२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

सार्वजनिक यातायात साेमबारदेखि सञ्चालन हुने

आइतबार ०४, साउन २०७७ ०२:५३

सार्वजनिक यातायात साेमबारदेखि सञ्चालन हुने

काठमाडौं । यातायात व्यवसायीहरु सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु साेमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले साेमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । काठमाडाैं उपत्यका बाहेक हाललाई एक जिल्लाबाट अर्काे जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएकाे छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले साेमबार बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोराेना संक्रमणको अझै डर रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे ।

व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेकाे  सार्वजनिक यातायात केन्द्रीय महासंघले जनाएकाे छ । 

काठमाडौंमा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत केही माइक्रो र टेम्पाेहरु गुडेका छन् ।  


#यातायात

प्रतिकृया दिनुहोस