२०८२ असार १९ गते बिहिबार | 3 July, 2025

विकास हाइड्रोपावरको आइपीओ खुल्यो

- विशेष खबर बुधबार १८, असार २०८२ ११:१३

विकास हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडाैं । विकास हाइड्रोपावर लिमिटेडले आज (बुधबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रूपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रूपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका र ३ लाख ५४ हजार ५५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपिओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि असार ३२ गतेसम्म लम्बिनेछ।

 


प्रतिकृया दिनुहोस