२०८१ पुष २१ गते आइतबार | 5 January, 2025

पेट्रोल र डिजेलको मूल्य बढ्यो

- विशेष खबर मङ्गलबार १६, पुष २०८१ १०:२२

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ, भने हवाई इन्धनको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर दुई रूपैयाँ बढाएको हो । 

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ । 

मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २६ र काठमाडौँको हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ६० कायम गरिएको छ । 

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.०९ र डिजेलमा २.२२ रूपैयाँ बढेको तथा तथा हवाई इन्धनमा प्रतिलिटर १.७१ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


प्रतिकृया दिनुहोस