२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुईवटा बस बगे, केही यात्रु बेपत्ता, अर्को एक बसमा ढुंगा लाग्दा चालकको निधन

- विशेष खबर शुक्रबार २९, असार २०८१ ०८:४२

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुईवटा बस बगे, केही यात्रु बेपत्ता, अर्को एक बसमा ढुंगा लाग्दा चालकको निधन

काठमाडाैं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु बेपत्ता छन् ।

नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर दुईवटा बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए ।


प्रतिकृया दिनुहोस