२०८१ असार ०७ गते बिहिबार | 20 June, 2024

वनकालीमा साउनभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

शनिबार १२, जेठ २०८१ ०६:४५

वनकालीमा साउनभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ ।

मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा  कोटी होम महायज्ञ सञ्चालन हुने भएको हो ।

उक्त महायज्ञ आगामी साउन महिनाभरि चल्ने श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर विजय कृष्णमुर्तीले जानकारी दिए । धर्म संस्कृतिको संरक्षण समग्र मानव जातीको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उनले बताए।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकहरूले जनाएका छन् ।

नेपाल अध्यात्मिक तपोभूमि भएकाले यहाँबाट योग, ध्यान, प्रणायाम, धर्म, ज्ञान,साधना र विज्ञानको महत्व विकास भएकाे हाे भन्ने सन्देश समेत फैलने उनकाे भनाइ छ ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस