२०८१ जेठ १५ गते मङ्गलबार | 28 May, 2024

छाडा चौपाया व्यवस्थापनको चुनौती

- रासस बिहिबार १७, फागुन २०८० ०९:४१

छाडा चौपाया व्यवस्थापनको चुनौती
  • शुक्रऋषि चाैलागाइ

सनातन धर्म मान्नेहरूले जनावरलाई भगवान्सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पूजा गर्ने पनि गर्दछन् तर अघिपछि तिनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरेको पाइन्छ । पशुधनीले गोठबाट निकालेका/छाडेका चौपाया नै सडक, चोकमा आएका हुन् ।

छाडा चौपायाकोे व्यवस्थापन नै अहिले मुख्य टाउको दुखाइको विषय बनेको छ । लुम्बिनी प्रदेशका ठूला सहर नेपालगञ्ज, बुटवल, भैरहवा, तुलसीपुर, तौलिहवा, घोराही, कोहलपुर, परासीलगायतका सहरका लागि अहिले मुख्य चुनौतीका रूपमा छाडा चौपाया रहेको छ । 

सहर र राजमार्ग छेउछाउमा गाई, गोरुलगायतका छाडा चौपायाको बिगबिगी छ । नेपालगञ्जमा त झन् गाईगोरुसँगै गधा, घोडासमेत सडकमै देखिन्छन् । छाडा चौपायाहरू सवारीसाधन नै अवरुद्ध हुनेगरी बस्ने गरेका छन् । छाडा चौपायाका कारण दुर्घटनाको जोखिम पनि बढ्दो छ । छाडा चौपाया नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिएको पाइन्छ । छाडा चौपायाको नियन्त्रण र व्यवस्थापनमा पालिकालाई थप सकस भइरहेको छ  ।  

गाई/गोरुको महत्व

हिन्दू र गाई/गोरु परिपूरक हुन्भन्दा हुन्छ । गाईबिना हिन्दू र हिन्दूबिना गाई परिकल्पना गर्न सकिन्न । अर्काेतिर गाई गुण नै गुणले भरिपूर्ण जनावर पनि हो । गाईलाई हिन्दू धर्ममा लक्ष्मी पनि भनिन्छ । यमपञ्चकको तेस्रो दिन लक्ष्मीको रूपमा गाईलाई पुजिन्छ पनि । गाईबिना स्वर्ग गइँदैन भन्ने मान्यताअनुसार हिन्दूहरूले जीवनको अन्तिमकालमा गौदान गर्ने गर्दछन् ।  गरुड पुराणअनुसार गाईको पुच्छर समातेर हिन्दूहरू बैतरणी नदी तरी स्वर्ग जान्छन् भन्ने विश्वास छ । गाई पूजाले करोडौंको धर्म हुन्छ भन्ने मान्यता पनि छ । 

हिन्दूहरूका हरेक खाले संस्कारमा गाईको गउँत प्रयोग गरिन्छ । विशेषतः शुद्ध हुनलाई गउँत चाहिन्छ । पवित्र कार्यमा शुद्ध पार्न गाईको गोबर पनि चाहिन्छ । गाईको दूध सबैभन्दा पोसिलो हुन्छ । गाईको दूध बालबालिका र वृद्धवृद्धाको लागि झनै फाइदाजनक हुन्छ । खेतीपातीको लागि गाई÷गोरुको गोबर÷गहुँत मलिलो मानिन्छ । हिन्दू धर्मालम्वीहरूले गोरुलाई पनि पूजा गर्दछन् । 

गोरु पनि सडकमै छाडिएको पाइन्छ । मुख्यतः खेतबारी जोत्नको लागि प्रयोग गरिने भए पनि अन्य समयमा पाल्न गा¥हो हुने भएपछि गोरु पनि सडकमै छोडिएको हो । जग्गा जोत्न गोरुको छुट्टै भूमिका हुन्छ । सडकमा छाडिएका साँडेको पनि आफ्नै महत्व छ । भगवान शिवजीको बाहन नन्दी भनी पूजा गर्ने गरी आशीर्वाद माग्ने चलन छ । गाई, गोरुको मललाई परम्परागत मलका रूपमा लिइए पनि खेतीबाली अन्न उब्जनीमा यसको प्रभावकारिता देखिन्छ । अर्गानिक मलका रूपमा यसले व्यापकता पाउँदै गएको छ । गोवर र गौ मूत्रबाट पनि आर्थिक लाभ लिन सकिन्छ । आयुर्वेदका अनुसार गौमुत्रबाट क्यान्सरलगायतका बिरामीले लाभ लिन सक्ने बताइएको छ । पछिल्लो समय वैज्ञानिकहरूले यसको पुष्ट पनि गरेका छन् । 

किन छाडिन्छन् गाई/गोरु ?

पशुधनीले आफूले पालेका चौपाय किन सडकमा पु¥याउन्छन  ?  पशुरुहरू किन सडकमा ल्याइए ? पछिल्लो समय सडकमा विशेषगरी गाई, गोरु छोडने चलन बढ्दैछ । दूध देउञ्जेल पाल्ने, दूध दिन छाडेपछि गाई सडकमा छाडिदिने चलन छ । बाच्छी दूधका लागि पाल्ने तर बाच्छाहरू सडकमै पु¥याइदिने पनि गरिन्छ । चाड पर्ब तथा सामाजिक कार्यमा गाई चाहिने हाम्रो समाज, गाई मर्दा भने रमिते झैं हुन्छ  । नाग पञ्चमीमा गोबर खोज्न हिड्ने । नागलाई दूध चढाउने । पितृ कार्य, बैबाहिक कार्य सबै काममा गाई चाहिने अनि एक मुठा घाँस दिएर पाल्न भने तयार नहुने, अचम्मको छ– हाम्रो समाज । पितृ उद्दारमा हजारौं रुपिया दान दिन तयार छ । एउटा भोको गाईलाई खुवाउन तयार छैन । भंैसी किन सडकमा छाडा छोड्दैनन् ? बाख्रा किन छाडा छोडिएन ? किनभने भैंसीको मासु खान्छन् । बाख्राको पनि मासु बिक्री हुन्छ । नगद आउँछ । तर गाईबाट के मिल्छ  ? 

गाई÷गोरु घरपालुवा जनावर हो । जहाँ छाडे पनि यो बस्ती छेउकै सडकमा आउँछ । यिनीहरूले सुख्खा ठाउँ मन पराउँछन् । त्यही भएर सडकमै बस्छन् । अहिले सडकका गाई वस्तु नियन्त्रण गर्दै काञ्जीहाउसमा पु¥याइए पनि सडकमा वेवारिस अवस्थामा छाडिने गाई गोरुको सङ्ख्यामा कमी आएको छैन । पशु धनीको पहिचानको अभावमा अहिले छाडा पशु बढेको हो । बजार सडकमा गाई÷गोरु कति छन् ? भन्ने नै यकिन छैन । पछिल्लो समय त भारतीय सीमाबाट पनि गाई, गोरुहरू आएको अनुमान गरिएको छ । काम लाग्दाको भाँडा नचाहिंदाको ठाँडा भने झैं काम छउन्जेल गाईवस्तु पुज्ने, पाल्ने अनि काम सकिए, सडकमा फ्याँकीदिने प्रवृत्ति छ । यो  हिन्दू मात्र हैन, मानव संस्कृति पनि होइन । 

व्यवस्थापनको पहल खै ? 

जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ । समाधान बिनाको समस्या कहीँ हुँदैन । छाडा चौपायाको पनि समाधान छ तर पुरानै सोच र शैलीले मात्र सम्भव छैन । अहिलेको चुनौती भनेको गाई वस्तुलाई सडकमै आउन नदिनु र आएकालाई संरक्षण गर्नु नै हो । सडकका गाई वस्तु काञ्जीहाउस÷आश्रयस्थल पु¥याएर मात्र पालिकाको दायित्व पूरा भएको ठहरिदैन । कतिपय पालिकाले पशु पक्रने र कान्जीहाउस पु¥याउने गरिरहेकै छन् तर यो दीर्घकालीन उपाय हैन । काञ्जीहाउसमा राखिएका गाई खानै नपाएर मरिरहेका समाचार पनि बेलाबेला आइरहेको छ । खान नपाएर पेट्मा ग्यास भरिएर उपचारमा समेत समस्या आएको छ । काञ्जीहाउस ठेक्का प्रक्रियामार्फत सञ्चालन गरिनुपर्छ । 

पशु सडकमा आउन नदिन र आएका पशु नियन्त्रण गर्न नयाँ सोच र विधि अपनाउन जरुरी छ । स्थानीय कानुन समेत बनाउन सक्ने सरकारले सम्वद्ध विज्ञ र सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा पहलकदमी लिन अब ढिलाई गर्नु हुँदैन । प्रथमतः सडकमा पशु छोड्नै दिन हुँदैन । छाडा पशुलाई कारवाही हैन, पशुधनीको पहिचान गरेर निजलाई कारवाही गरिनुपर्छ । कारवाहीका लागि नयाँ मापदण्ड पनि बनाइनु पर्छ । पशु चौपाया पालनमा पनि मापदण्ड बनाउनु पर्ने हुन्छ । अनुमतिबिना गाईलगायतका चौपाया पालन गर्न बजार क्षेत्रमा रोक लगाइनु पर्छ । जनावरको ‘ट्याग’ गरेर लगत राख्ने अनि पशुधनीलाई कारबाहीको दायरामा ल्याउने गर्नु पर्छ । गाई÷गोरुलाई सडकमा छाडेर पशु धनीले हिंसामाथि हिंसा गरिरहेका छन् । गाई वस्तुलाई सडकमा पु¥याइनु अबोध, निरीह प्राणी माथिको अत्याचार पनि हो । यस्ता पशुधनीलाई कानूनी रूपमा कारबाही र  सामाजिक रूपमा हतोत्साही गरिनुपर्छ । गाईसहितका पशु चौपायाको व्यवस्थापनका लागि पर्याप्त जग्गा भएको भौतिक संरचनासहितको आश्रयस्थल बनाउनु पर्छ । 

केही सहरमा काञ्जीहाउस, आश्रयस्थल निर्माण त गरिएका छन् तर तिनको प्रभावकारी व्यवस्थापन र दीर्घकालीन स्थायित्व भने खोजिएको छैन । फुल्टेक्रास्थित काञ्जीहाउस साँघुरो भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले केही वर्षअघि वडा नं २१ मा कान्जीहाउस सञ्चालनमा ल्यायो । केही कर्मचारी खटाएर गाईगोरुलाई कान्जीहाउसमा त थुनियो तर तिनीहरूका लागि आवश्यक खानेकुराको सही व्यवस्थापन गर्न अहिले पनि हम्मेहम्मे छ । 

तिलोत्तमा नगरपालिका–१ र ८ को बीचमा कहरिया सामुदायिक वनमा गौशाला बनाएर छाडा गाईवस्तु राखिएको छ । यस्तै घोराहीमा पनि सामुदायिक वनको सहयोगमा छाडा पशु चौपाया नियन्त्रण गरिएको छ । छाडा चौपायाको समस्या दीर्घकालीन समाधान गर्न बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकाहरूसँग समन्वय गरी प्रदेशस्तरको गौ संरक्षण केन्द्र बनाउने योजना बनाएको छ तर खासै पहल भने गरेको छैन । यस्तै तौलिहवामा सडकमै गाईगोरुको बथान देखिन्छ । तर नगरपालिकाले खास पहल गर्न सकेको छैन । यस्तै अन्य पालिकाले पनि छाडा चौपाया एउटा ठाउँबाट अर्को ठाउँ धपाउनेबाहेक ठोस पहल गरेको देखिँदैन ।

छाडा चौपाया नियन्त्रणको प्रयास गरे पनि दीर्घकालीनरूपमा समाधान गर्न सकिएको छैन । एउटा पालिकाले मात्रै चाहेर समाधान नहुने भएकाले सामूहिक प्रयत्नस्वरुप  प्रदेश सरकारले नै अगुवाइ गर्नुपर्ने हुन्छ । स्थानीय तहले गर्दा कतै वनसँग कुरा नमिल्ने, कतै राजनीतिकरण हुनेजस्ता समस्या देखिएकाले प्रदेशले नै गौशाला बनाउँदा दीर्घकालीनरूपमा समाधान निकाल्न सकिन्छ । तर नीतिगतरूपमा स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्ने भएकाले प्रदेशस्तरको गौशाला निर्माण गर्न नमिल्ने देखिन्छ । छाडा चौपाया व्यवस्थापनको समस्या छ भन्ने सबैलाई थाहा छ । समस्याबाट भाग्ने छुट कसैलाई पनि छैन । यसर्थ समाधान खोज्न लाग्ने हो भने स्थानीय सरकार र प्रदेश सरकारबीचको छलफलबाटै निकास खोजिनुपर्छ । नीतिगत पहलबाटै दीर्घकालीन व्यवस्थापन खोजिनुपर्छ ।

(लेखक नेपालगञ्जका क्रियाशील पत्रकार हुनुहुन्छ)


प्रतिकृया दिनुहोस