२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने

- विशेष खबर शनिबार ०५, फागुन २०८० ०१:४५

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरेको छ । 

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण पालिकाभित्र बसोबास गर्ने एउटा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराइने छ ।

चिकित्सा शिक्षा अध्ययन गर्न लाग्ने कूल खर्चको ५० प्रतिशत गाउँपालिकाले बेहोर्ने उहाँले बताउनुभयो । छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न कार्यविधिमा कोषको व्यवस्था गरिएको छ । 

चालु आवमा पालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । सो छात्रवृत्ति चालु आवमै उपलब्ध गराइने छ ।

गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नौ सदस्यीय चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति रहने कार्यविधिमा उल्लेख  छ । 


प्रतिकृया दिनुहोस