२०८१ असार ०७ गते बिहिबार | 20 June, 2024

योग्यताको कसीमा विधागत पत्रकार

- रासस बुधबार ०८, कार्तिक २०८० ११:५८

  • विनोद ढुङ्गेल

काठमाडौं । मिडिया क्षेत्र संस्थागत नहुँदा नहुँदै पनि र पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था दुरुह रहँदा रहँदै पनि नेपालमा केही वर्षयता पत्रकारको योग्यताका मामिलामा मन्द बहस जारी छ । कसैले पत्रकार हुनका परीक्षा दिनुपर्ने तर्क दिइरहेका छन् भने कसैले त्यसको विरोध गरेका छन् । 

परीक्षा–पक्षधरहरूको तर्कअनुसार कानून व्यवसायी, चिकित्सक, इन्जिनीयर, शिक्षक मात्र नभएर सवारी चालकसम्मले परीक्षा उत्तीर्ण गरेर मात्र पेशागत अभ्यास गर्न पाउँछन् भने व्यापक प्रभाव राख्ने सीपमूलक पेशाकर्मी पत्रकार किन अपरीक्षित ? ठीक विपरित जिकीरअनुसार संविधान–प्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकजस्ता मौलिक अधिकारको अभ्यासकर्ता पत्रकारितामा प्रवेश गर्नै बारबन्देज गर्नु नागरिक हकको प्रतिकूल हो ।

यी दुईथरि मत पेशाको गुणस्तरीयता कायम गर्ने र नियन्त्रण वर्जित गर्ने हदसम्म मात्र सीमित नभएर कतिपय अवस्थामा उच्च शिक्षा प्राप्त र अप्राप्त पत्रकारहरूको मतको रूपमा समेत अभिव्यक्त हुने गरेका छन् । यस मामिलामा सम्पादकहरूको अनुभव भने यथार्थ अलि फरक पाइन्छ ।

उनीहरूका अनुसार कक्षा कोठामा कुशल भनिएका पत्रकारिताका विद्यार्थी समाचार कक्षमा कमजोर पाइएका छन् । तर, त्यस्ता विद्यार्थी भने तिनै सम्पादकको शैक्षिक योग्यतामाथि खिसीट्यूरी गरिरहेका भेटिन्छन् । यो आम पत्रकारिताको कुरा भयो । केही हप्तायता विशेषज्ञ पत्रकारिता अर्थात विधागत पत्रकारिताका बारेमा आमसञ्चारका माध्यममा मेरा आलेखहरू प्रकाशित भइरहँदा मैले भने केही फरक प्रतिक्रिया पाएको छु ।

ती प्रतिक्रिया विश्वविद्यालयको प्रमाणपत्र वा कुनै परीक्षा प्रणालीको पक्ष वा विपक्षमा छैनन् । त्यसअनुसार, विधागत पत्रकारिता गर्नका लागि आमरुपमा पत्रकारका लागि चाहिने गुण, विशेषता, सीप, क्षमता आदि त चाहिन्छन् नै; त्यस अतिरिक्त यो विशिष्टीकृत क्षेत्र भएकाले अरू विशिष्ट योग्यता, विशेषता, सीप र क्षमता पनि जरुरी हुन्छ । हो, वास्तवमै आम पत्रकारको आँखामा वाञ्छनीय ठानिएका गुण विशिष्टीकृत क्षेत्रका लागि त अत्यावश्यक तत्व नै हुन् । 

विशिष्ट गुणका कारणले नै विधागत पत्रकारितालाई विशिष्टीकृत पत्रकारिता मानिएको हो । “विधागत पत्रकारितामा विषयगत ज्ञान र सीपका साथै खास तथ्य वा सन्दर्भसँगै सञ्चारशैली र सूचना प्रवाहको खासखास धार हुन्छन्” भन्नु हुने नेपाली पत्रकारहरूका गुरू प्राध्यापक रामकृष्ण रेग्मीले ‘उहिलेको पत्रकारिता’ मा उल्लेख गरेअनुसार प्रत्येक विधामा ‘विशेष मर्म, मौलिक मूल्य र मान्यता’ हुन्छन्, जसको जगेर्ना पत्रकारिताले गर्नै पर्छ । जनसम्पर्क र सूचनाको स्रोतका लागि त विधागत पत्रकारले पनि आम पत्रकारले जस्तै विधि अपनाउँछन् । विषयवस्तुसँग परिचित हुने हुनाले विधागत पत्रकारहरू विषयवस्तुको भित्री तहसम्म पुग्नैपर्छ । त्यसैले उनीहरूले सीधा तथ्यको रिपोर्टिङ्का अतिरिक्त अन्तर्यमा पुगेर भित्री कथा र टिप्पणी पनि दिनसक्नुपर्छ । व्यापक स्रोतहरूसँगको सु–सम्बन्ध नै गतिला समाचारका आधार हुन् । सम्बन्ध कायम नरहे विश्वास कायम रहँदैन ।  
   
विधा विशेषमा अनुभवी पत्रकारले सो विधामा आधिकारिक रूपमा लेख्न सक्छ । यो नै सबैभन्दा ठूलो तागत हो । आ–आफ्नो बिटका कानून, नीति, कार्यक्रम र तिनको कार्यान्वयनको अवस्थाबारे सबै बिटका पत्रकारलाई ज्ञान हुनु जरुरी छ । दर्जनौं पुस्तकका सम्पादक तथा प्रतिष्ठित अमेरिकी पत्रकार क्रिष्टोफर स्क्यानलानका विचारमा विधागत पत्रकारले आफ्नो विधाका समाचारका स्रोत चिन्नुका साथै भाषा र प्रक्रिया पनि सिक्नुपर्छ । शब्द, शैली, संस्कृति, संकेत, संवेदनशीलता, सबलता÷दुर्बलतासमेत बुझ्नु त्यस्तो पत्रकारको आवश्यकता हो । त्यसैअनुसारको विशिष्ट÷प्राविधिक शव्दावली र तिनको अर्थ, कार्यस्थलको वातावरण आदि पनि जान्नुपर्छ ।  

टेक्सस युनिभर्सिटीका पत्रकारिताका प्राध्यापक डेभिड राइफका अनुसार, पत्रकारलाई कुनै बीटमा रिपोर्टिङ् गराउँदा सञ्चार संस्थाको लगानी हुन्छ र पत्रकारहरू निपूर्णता हासिल गर्न मनैदेखि लागेका हुन्छन् । त्यो भनेको मूलतः मिडिया हाउसको आर्थिक लगानी हो भने पत्रकारको समय, श्रम र भावनाको लगानी हो । आफ्नो बिटमा कुनै घटना हुने बित्तिकै स्रोतहरूबाट तत्काल जानकारी लिनु र समय–सीमाभित्र लेखिसक्नुलाई सम्पादक स्क्यानलान ‘पत्रकारको ठूलो तागत’ ठान्छन् । 

स्रोतलाई सधैं खुशी राख्न सम्भव नहुन सक्छ तर सम्बन्ध कायम राख्न भने आवश्यक नै हुन्छ । विधागत पत्रकारिताका अनुसन्धानकर्ताहरूले बीट रिपोर्टर र समाचार–स्रोतबीच व्यावसायिक दूरी कायम राख्नमा तीन वटा जोखिम देखेका छन् । मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार पहिलो हो– बिट रिपोर्टरहरू स्रोतप्रति धेरै बफादार भएमा स्रोतले प्रयोग गरिदिनसक्छ । दोस्रो– पत्रकारहरू स्रोतप्रति धेरै विरोधी भए पनि पाठक÷दर्शक÷स्रोतालाई मन पर्दैन र पत्रकारले विश्वास गुमाउन सक्छन् र तेस्रो जोखिम हो– बिट रिपोर्टरले आफूलाई उनीहरूको स्वार्थका पक्षधर जस्तो ठान्न थाले भने तिनीहरू कार्यकर्ता हुन पुग्छन् । यी तीन वटै अवस्थाले पत्रकारितालाई क्षय नै गर्छन् । 
 
त्यसो भए विधागत पत्रकारितालाई कसरी प्रभावकारी बनाउने त ? पत्रकारिताको २५ वर्षभन्दा लामो समय अनुभव सँगालेका अमेरिकी प्राध्यापक टोनी रजर्स त्यसका लागि चार वटा उपाय पेश गर्छन्  । उनका अनुसार, पहिलो उपाय हो– आफ्नो बीटको बारेमा चाहिने सबै कुरा सक्दो सिक्न र जान्नका लागि यस क्षेत्रका धेरैभन्दा धेरै मानिससँग कुरा गर्नु र पढ्नुपर्छ । प्राविधिक विधामा काम गर्ने पत्रकारका लागि यो विशेष चुनौतीपूर्ण छ । 

तर, पत्रकारले पनि वैज्ञानिकले जति नै जानेको होस् भनेर कसैले अपेक्षा गर्दैन । पत्रकारले आम गैरप्राविधिक मान्छेले जति भने जान्नै पर्छ । त्यति भएमा प्राविधिक मान्छेसँग ठीक प्रश्न सोध्न र उसका जवाफलाई सबैले बुझ्ने गरी सम्प्रेषण गर्न सक्ने हुन्छ । दोस्रो उपाय, आफ्नो बिटका खास–खास खेलाडी को–को हुन् भनेर सकेसम्म बढी जानकारी राख्नु पर्छ । तेस्रो– आफ्नो बिटका मान्छेलाई समान्यरूपमा चिन्ने मात्र हैन, तीमध्ये केहीलाई भरपर्दो समाचार–स्रोत बनाउनुपर्छ । समाचार–स्रोत गतिलो नभएको पत्रकारसँग वास्तवमा केही पूँजी नै हुँदैन ।

पत्रकारहरूको एउटा कमजोर पक्ष हो, समाचारको स्रोत “ठूलो” हुनुपर्छ भन्ने भ्रम । हो, ठूला समाचार ठूलै ठाउँमा पाक्छन् । त्यसको अर्थ त्यो कुरा “ठूला”हरूबाट मात्र थाहा पाइन्छ भन्ने होइन । सहायक कर्मचारी ठूला समाचारका स्रोत हुन सक्छन् । महत्वपूर्ण कागजात र अभिलेख तिनैसँग हुन्छन् । उदाहरणका लागि– प्रधानमन्त्रीको किनमेलको विवरण सुरक्षागार्डबाट पाउन सकिन्छ भने राष्ट्रपतिको स्वास्थ्य अवस्थाको जानकारी अस्पतालका नर्सले दिन सक्छन् । नेपाल आएका विदेशी सेलेब्रिटीसँग पहुँच नपाए पनि उनीहरू बसेको होटलका बेयरा पत्रकारको पहुँचमा हुन सक्छन् । 

स्रोतसँग बलियो सञ्जाल विकास गरेका बिट रिपोर्टर समाचार–स्रोतको रुचिअनुरुपका सामग्री मात्र लेख्ने चेपुवामा पर्ने खतरा त छँदैछ । त्यस्तो अवस्थामा पत्रकारले के गर्ने त ? आफँैलाई केही प्रश्न सोध्नुभन्दा राम्रो उपाय केही हुन सक्दैन । प्रश्न सामान्य हुन्छन् । जस्तै : यसले मेरा पाठक÷स्रोता÷दर्शकलाई कस्तो प्रभाव पर्ला ? तिनले के सोच्लान् ? यो उनीहरूलाई चाहिने कुरा हो कि होइन ? यस्तै–यस्तै । जवाफ नकारात्मक आए भने स्पष्ट छ, त्यो समाचार आवश्यक छैन ।यसबाहेक पनि प्रभावकारी बिट रिपोर्टिङ्का विभिन्न उपाय हुनसक्छन्, अलिकति तिनको चर्चा गरौं । 

पहिलो हो, सिधै पाठक/दर्शक/स्रोतासँग कुरा गर्नु । तिनका छिमेकी, साथी–सङ्गी र पाठकका आफन्तका बारेमा पनि स्थानीय समाचार–कथाहरूले रिपोर्ट गर्छन् । तर, तिनका बारेमा कुरा गर्ने होइन, सिधै पाठक÷दर्शक÷स्रोतासँगै कुरा गर्ने उपाय अपनाउनुपर्छ । अर्को हो, पत्रकार पहरेदार हो, पहरेदार नै बन्नुपर्छ । विधागत पत्रकार मार्गदर्शक पनि बन्नसक्छ । परम्परागत रूपमा पत्रकारिताले अधिकारीहरूलाई जवाफदेही बनाउँछ । यसबाहेक असल र सिर्जनशील पत्रकारले समुदायलाई समाधान र प्रगतिको बाटो पनि देखाउन सक्छ । 

रिपोर्टिङ्मा ध्यान केन्द्रित गर्नु प्रभावकारी बिट रिपोर्टिङ्को अर्को उपाय हो । छोटा समाचार–कथालाई पनि राम्रोसँग विकसित गर्न सकिएमा गहन–रिपोर्टिङ हुनपुग्छ । गहन रिपोर्टिङ्मा व्यक्तित्वका सूक्ष्मता र नगण्य जस्ता लाग्ने विषय पनि सङ्कलन गरिन्छ । वास्तवमा यस्ता विवरण महत्वपूर्ण र रोचक हुन्छन् । समाचार–कथाको प्रमुख तत्वलाई अगाडि प्रस्तुत गरेर त्यसपछि मात्र घटनाको पुनः वर्णन गरियो भने ‘पानी–घडी’ जस्तो संरचना बन्छ, त्यो पाठकका लागि रुचिकर हुन्छ । 

जटिल समस्या आए अनुवाद गर्नैपर्छ । बिट रिपोर्टिङ्ले पाठक/दर्शक/स्रोताका जटिल समस्याको गाँठो फुकाइदिन्छन् भन्ने अपेक्षा गरिन्छ । त्यसका लागि पत्रकारले अनावश्यक पृष्ठभूमि नहाली आवश्यक विवरण मात्र दिनुपर्छ । मानवीय विवरण समाचार–कथाको मूल मर्म हो ।

अधिकांशतः स्थानीय वा बिट रिपोर्टहरूमा चित्रित व्यक्ति स्थानीय बासिन्दा हुन्छन् । स्थानीय सहज सार्वजनिक ठाउँहरूमा भेटिने उनीहरूप्रति निकटता देखाउनैपर्छ । सांस्कृतिक अन्तर्दृष्टि अर्को महत्वपूर्ण पक्ष हो । स्थानीय समाचारमार्फत स्थानीय संस्कृतिबारे थाहा पाउने र त्यसलाई विकास गर्ने प्रयास गर्नुपर्छ । यसो गर्दा टाढाका पाठकलाई पनि समाचार–कथाले नजिक ल्याइपुर्याउँछ ।  

यसै पनि पत्रकार भनेका पाठक/श्रोता/दर्शकका आँखा हुन् । उनीहरूलाई हेर्ने बनाउनु र उनीहरूकै ठाउँबाट उनीहरूलाई संसार देखाउन सक्नु हरेक लेखकका लागि चुनौती हो । त्यसका लागि विधागत पत्रकार सदैव तम्तयार रहनुपर्छ ।  यसअलावा, आफ्नो विधाका समाचारलाई आफू संलग्न मिडियाको प्राथमिकतामा माथि पार्नमा विधागत पत्रकारले सदैव ध्यान दिनुपर्छ ।

समाचार तथा सूचनाका स्रोत हुनसक्ने स्थानीय, प्रादेशिक तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाको सम्पर्क–सूची बनाउनु र तीमार्फत गहिरो समाचार ल्याउनु यसका लागि एउटा उपाय हो । सूचनाको चाङ्बाटै समाचारीय महत्व र प्राथमिकता निर्धारण हुने हो । 

विधागत पत्रकारहरूले स्रोतको पहिचान गर्ने, इन्टरनेटमार्फत समाचार तथा सूचना पत्ता लगाउने तर नचाहिएको सूचनामा बरालिनबाट जोगिनेमा बढी नै ध्यान दिनु पर्छ । त्यसैगरी स्थानीय तथा प्रादेशिक सन्दर्भका सामग्रीलाई राष्ट्रिय महत्वका सामग्रीको रूपमा विकास गर्ने तथा अन्तर्राष्ट्रिय घटनालाई राष्ट्रिय मिडियामा सान्दर्भिक बनाउने अक्कलमा विधागत पत्रकारको खास योगदान हुनसक्छ ।
 
अन्तर्राष्ट्रिय सूचनाका सही स्रोत थाहा पाउने, अन्तर्राष्ट्रिय र राष्ट्रिय सरकारी तथा गैरसरकारी प्रमुख संस्था पहिचान गरेर सूचनालाई समृद्ध बनाउने, शक्तिशाली व्यक्ति तथा संस्थाको प्रभावबाट मुक्त रहेर नागरिक–केन्द्रित पत्रकारिता गर्ने जस्ता चुनौती पनि विधागत पत्रकारिताको अभ्यासमा निकै आइलाग्छन् ।

नीतिगत निगरानीका विषय पत्ता लगाउनु, त्यस निम्ति आफ्नो विधाका कानूनी तथा नीतिगत विषय÷व्यवस्थाबारे चाल पाउनु, महत्वपूर्ण प्रतिवेदनहरूबाट समाचारीय महत्वका जानकारी भेट्टाउनु, केलाउनु र आधिकारिता जाँचेर पस्कनु विधागत अभ्यासका रोचक पक्ष हुन् ? कुनै पनि समाचार सामग्रीलाई मूलप्रवाहको अर्थात आम चासोको सामग्री बनाउन सकिने यिनै आधारमा हो ।  

यसरी सैद्धान्तिकदेखि अनेक व्यावहारिक पक्षका बीच सफल विधागत पत्रकार बन्नेहरूका लागि मिडिया जगतमा स्थापित हुने अवसर प्रशस्तै देखिन्छन् । विधागत पत्रकारितामार्फत पनि पत्रकारिताको मूल प्रवाहमा स्थापित हुनसक्ने भविष्य मात्र हैन, प्रधान सम्पादक नै बन्न सकिने अवसर देखिइसकेको छ, देखिइरहेको छ । पेशागत नैतिक आचारको प्रतिकूल नहुने गरी सम्मानित वा पुरस्कृत हुने राष्ट्रिय संभावना त छँदैछ, बीट रिपोर्टिङ्मै अन्तर्राष्ट्रिय पुरस्कार पनि उपलब्ध छन् ।

कोलम्बिया विश्वविद्यालयले सन् १९९१ देखि २००६ सम्म दिएको ‘बिट रिपोर्टिङ्का लागि पुलिट्जर पुरस्कार’ त्यस्तो सबैभन्दा प्रख्यात पुरस्कार हो । सो पुरस्कार सन् २००७ यता बन्द गरिएको भए पनि ‘स्थानीय रिपोर्टिङ्का लागि पुलिट्जर पुरस्कार’ भित्रै बिट रिपोर्टिङ् समेटिन सक्ने ढोका खुलै छ ।
 
आवश्यक योग्यता, सीप र जाँगरसहित विधागत पत्रकारिता गर्दा पत्रकार सीमित हैन, धारिलो हुन्छ । त्यस्तो पत्रकारको न त अध्ययनको खोजी आवश्यक हुन्छ, न त उसको सीपका बारेमा प्रश्न गर्ने ठाउँ नै मिल्छ । बरू, ऊ त पत्रकारितामा मात्र नभएर उसको विशिष्टताको क्षेत्रमा समेत प्रतिष्ठित र स्थापित भएर निर्भिक पत्रकारिता गर्न योग्य हुन्छ । यसका लागि पत्रकारको पेशागत सुरक्षा भने आवश्यक हुन्छ । पत्रकारिताको संस्थागत विकासको वातावरण त त्यसको पूर्वशर्त नै हो । त्यसतर्फ अभिमुख हुने उद्देश्यका साथ अग्रसरतापूर्वक सार्थक वहस गर्नु जरुरी छ । अन्यथा पत्रकारको योग्यताको मन्द बहसको बाटोसम्म आइपुगेको नेपाली पत्रकारिता अन्य अपत्रकारीय मन्द विषको प्रभावमा जकडिन पुग्नेछ । त्यसो हुनु श्रम र पूँजीका लगानीकर्ताका लागि मात्र हैन, समग्र समाजकै अग्रगतिका लागि प्रतिकूल हुने पक्का छ ।

(लेखक ढुङ्गेल पत्रकारिता र आमसञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ) 


प्रतिकृया दिनुहोस