२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपाल र मङ्गोलिया भिड्दै

- रासस बुधबार १०, असोज २०८० ०८:२२

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपाल र मङ्गोलिया भिड्दै

हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङ्गोलियासित खेल्दैछ ।

नेपाल र मङ्गोलियाबीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ः४५ मा सुरु हुँदै छ । मङ्गोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङ्गोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ‘ए’मा शीर्षस्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बङ्गलादेश, पाकिस्तान,  श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै यहाँ आइपुगेको छ ।

नेपाली टोलीका दुई महत्रवपूर्ण खेलाडी सन्दीप लामिछाने र सागर ढकाल आजै यहाँ आइपुगेका छन् । नेपाली टोलीका अन्य खेलाडीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।


प्रतिकृया दिनुहोस