२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

भारतसँग पाकिस्तान २२८ रनले पराजित

- विशेष खबर सोमबार २५, भदौ २०८० ११:४०

भारतसँग पाकिस्तान २२८ रनले पराजित

काठमाडौं । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तान भारतसँग नराम्ररी पराजित भएकाे छ । सोमबारको खेलमा भारतसँग पाकिस्तान २२८ रनले पराजित भएको हाे । 

वर्षाका कारण आइतबार रोकिएकाे खेल सोमबार पुन: सुरु भएको थियाे । साेमबार भारतले दिएको ३५७ रन पछ्याउने क्रममा भारतीय बलरहरू सामु पाकिस्तानी ब्याटर जम्न सकेनन् । 

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रननै सर्वाधिक स्कोर रह्यो । त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए । कप्तान बाबर आजम भने १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन् ।

१७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप २ विकेट गुमाउन पुग्यो । आइतबार वर्षाले खेल रोकिएपछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो । भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए ।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो । भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १२२ रन बनाए ।

कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए । त्यस्तै केएल राहुलले १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा १११ रन बनाए । आइतबार वर्षाले खेल रोकिँदा भारत २४.१ ओभरमा १४७/२ को अवस्थामा थियो । त्यसपछि राहुल र कोहलीले शानदार साझेदारी गर्दै पाकिस्तानविरुद्ध ऐतिहासिक चुनौती खडा गरेका हुन् ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र शादाब खानले १/१ विकेट लिए । यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए ।

भारतले पाकिस्तानविरुद्ध एकदिवसीय क्रिकेटमा सोमबार सबैभन्दा बढी लक्ष्य दिएको हो । यसअघि सन् २००५ मा विशाखापटनममा भएको खेलमा भारतले ९ विकेट गुमाउँदै पाकिस्तानविरुद्ध ३५६ रन नै बनाएको थियो ।


#क्रिकेट

प्रतिकृया दिनुहोस