२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

एसिया कपमा पाकिस्तानसँग नेपालको ठूलो हार

- विशेष खबर बुधबार १३, भदौ २०८० १०:०५

एसिया कपमा पाकिस्तानसँग नेपालको ठूलो हार

काठमाडाैं । नेपाल एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ ।

३ सय ४३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो ।

नेपालबाट आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्शन झाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कुशल भुर्तेलले पहिलो ओभरको सुरुका दुई बलमै शाहिन शाह अफ्रिदीलाई लगातार चौका प्रहार गरेका थिए । तर अफ्रिदीले पहिलो ओभरको अन्तिम दुई बलमा कुशल र कप्तानलाई आउट गरे ।

कुशलले लेग साइडमा गएको बललाई विकेटकिपरलाई क्याच दिन पुगे । रोहितले अफ्रिदीको बल ठम्याउन नसक्दा एलबीडब्लु आउट भए । आरिफ र सोमपालले चौथो विकेटमा ५९ रनको साझेदारी गरे । आरिफले ५ र सोमपालले ४ चौका प्रहार गरे । गुल्शनले १ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, तथा सन्दीप लामिछाने र ललित राजवंशी शुन्यमा आउट भए । करण केसी ७ रनमा अविजित रहे । लेग स्पिनर सदाब खानले ४ विकेट लिए । उनले ६.४ ओभरमा २७ रन खर्चे । अफ्रिदी र हरिस राउफले २–२ तथा नसिम शाह र मोहम्मद नवाजले १–१ विकेट लिए ।

यसअघि नेपालले उत्कृष्ट सुरुआत गरे पनि त्यसको फाइदा उठाउन सकेन । नेपालले फितलो फिल्डिङ र अनुशाषित बलिङ गर्न नसकेपछि पाकिस्तानले विशेष गरी ब्याटरद्धय बाबर र अहमदले त्यसको भरमुर फाइदा उठाए । नेपालले फिल्डिङका क्रममा आधा दर्जन चौका छाड्न पुगेको थियो । बाबरले १ सय ५१ र अहमदले अविजित १ सय ९ रन बनाए ।

पाकिस्तानले अन्तिम ८ ओभरमा १ सय १८ रन प्रहार गरेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा खर्चेको सबैभन्दा बढि रन हो । जुनमा जिम्बावेमा भएको विश्वकप छनोटमा वेस्ट इन्डिजले बनाएको ३३९–७ को स्कोर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको सबैभन्दा बढि रन थियो । नेपालले एकदिवसीयमा केवल तेस्रो पटक ३ सयभन्दा बढि रन खर्चेको हो ।

खेलको पहिलो ओभरमा फाखर जमानले सोमपाल कामीलाई २ चौकासहित ९ रन प्रहार गरेका थिए । त्यसपछि सोमपाल र उनका ओपनिङ बलिङ जोडि करण केसीले राम्रो बलिङ गर्दै पुनरागमन गरेका थिए । पाँचौं ओभरमा सोमपालको बलमा आरिफ शेखले क्याच लिन नसक्दा इमाम उल हक जोगिएका थिए ।

तर आरिफका भाई विकेटकिपर आसिफ शेखले उत्कृष्ट डाइभिङ क्याच लिएपछि करण केसीले जमानलाई १४ रनमा आउट गरेका थिए । गुल्शन झाले डिप स्क्वायरमा फितलो फिल्डिङ गरेपछि बाबर आजमले आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । तर अर्को ओभरको पहिलो बलमै रोहितले मिड अफबाट सिधा थ्रोमा इमामलाई ५ रनमा रन आउट गरेका थिए ।

मोहम्मद रिजवान पनि रन आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा रनआउट गरे । त्यसभन्दा अगाडि रिजवानले कप्तान बाबरसँग तेस्रो विकेटमा ८६ रनको महत्वपूर्ण साझेदारि गरिसकेका थिए । रिजवानले ५० बल खेली ६ चौकासहित ४४ रन बनाए । सन्दीप लामिछानेले सल्मान अघालाई ५ रनमा आउट गर्दा पाकिस्तान २८ औं ओभरमा १२४–४ को स्थितिमा थियो ।

बाबरले १ सय ९ बलमा शतक पुरा गरेका थिए । यो उनको १९ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । बाबरले दोस्रो पटक एकै खेलमा १ सय ५० भन्दा बढि रन बनाएका हुन् । उनी आफ्नो उच्च स्कोरभन्दा ७ रनले पछाडि रहे । १ सय ३१ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

अहमदले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए । उनले ६७ बलमै शतक पुरा गरेका थिए । बाबर र अहमदले पाँचौं विकेटमा २ सय १४ रनको साझेदारी गरे । अहमदले ७१ बल खेल्दै ११ चौका र ४ छक्का प्रहार गरे ।

अन्तिम ओभरको चौथो बलमा सोमपालले लङ अफमा वैकल्पिक फिल्डर सन्दीप जोराबाट क्याच गराए । सदाब खानले आफुले सामना गरेको पहिलो बलमा चौका प्रहार गरे पनि इनिङ्सको अन्तिम बलमा उनलाई सोमपालले बोल्ड गरे । सोमपालले १० ओभरमा ८५ रन खर्चन पुगे ।


प्रतिकृया दिनुहोस