२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

पूर्वी पञ्जावमा बसमा आगो लाग्दा २० जनाको मृत्यु, १५ घाइते

एजेन्सी आइतबार ०३, भदौ २०८० १२:३२

पूर्वी पञ्जावमा बसमा आगो लाग्दा २० जनाको मृत्यु, १५ घाइते

इस्लामावाद । पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो । 

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् । 

अघिल्लो साता पञ्जाव प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिएभने तीन हजार एक सय ११ जना घाइते भएका थिए । 

आपत्कालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक एसय ८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए । आठ सघ ९१ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् । 
    
यसैबीच, देशको उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा ११ जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका एआरवाई न्युजले जनाएको छ । मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विष्फोटसम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

अघिल्लो साता वजिरिस्तानको बाजौरमा भएको ठूलो आत्मघाती विष्फोट भएको थियो। चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्ष्य  गरी गराइएको उक्त विष्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो । इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए । 


प्रतिकृया दिनुहोस