२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

विहारमा पत्रकारको गाेली हानी हत्या

एजेन्सी शुक्रबार ०१, भदौ २०८० ११:१२

विहारमा पत्रकारको गाेली हानी हत्या

नयाँ दिल्ली । भारतको पूर्वी राज्य विहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ ।

विहारको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका बेला पत्रकार विमलकुमार यादवको हत्या भएको हो ।

हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले उनको ढोका ढकढक्याएर नाम उच्चारण गरेरै बोलाएपछि यादवले ढोका खोल्दा उनको छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारले यादवको घटनास्थलमै मृत्यु भएको बताए । 

यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

पत्रकारहरूसँग घटनाबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री नितिश कुमारले भने, 'यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो । कसरी मानिसलाई यति निर्मम तरिकाले मार्न सक्छ ?'

उनले अधिकारीहरूलाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको बताए । 


प्रतिकृया दिनुहोस