२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

दक्षिण कोरियामा छुरा प्रहारबाट १४ जना घाइते

एजेन्सी बिहिबार १८, साउन २०८० १०:५५

सियाेल । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा पर्ने सियोङनाम सहरमा बिहीबार भएको छुरा प्रहारमा १४ जना घाइते भएका छन् ।

दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाए अनुसार सियोङनामको एक डिपार्टमेन्ट स्टोरको पहिलो र दोस्रो तल्लामा स्थानीय समयअनुसार साँझ ५ः५९ बजे २३ वर्षीय एक व्यक्तिले ५० सेन्टिमिटरभन्दा लामो घातक हतियारले आक्रमण गर्दा ती व्यक्ति घाइते भएका हुन् ।

डिपार्टमेन्ट स्टोरभित्र कालो हुडी, टोपी र चश्मा लगाएका शङ्कास्पद व्यक्तिले आक्रमण गर्दा नौ जना घाइते भएका थिए । 

छुरा प्रहार गर्नुअघि ती व्यक्तिले डिपार्टमेन्ट स्टोर अगाडिको फुटपाथमा एउटा हलुका कार चलाएर फुटपाथमा रहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएका थिए । 

योन्हापले स्थानीय अधिकारीलाई उद्धृत गरी भनेको छ 'घाइतेमध्ये १२ जना गम्भीर घाइते भएका छन् । ६० वर्षीया एक महिलाको अवस्था गम्भीर छ ।'

प्रहरीले स्थानीय समयअनुसार साँझ ६ः०५ बजे घटनास्थल नजिकैबाट संदिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो र घटनाको सही उद्देश्य र परिस्थितिको अनुसन्धान थालेको छ । 


प्रतिकृया दिनुहोस