२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

कर्णालीका भेडापालकलाई ६८ लाख ‘हेरालो भत्ता’

- रासस बिहिबार ११, साउन २०८० १०:४७

कर्णालीका भेडापालकलाई ६८ लाख ‘हेरालो भत्ता’

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको
छ ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो ।

मन्त्रालयअन्तर्गत पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागू भएको थियो ।

उनले भने, 'प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रापालक किसानलाई प्रतिमहिना एक हजार पाँच सय रूपैयाँका दरले वार्षिक १८ हजार रकम उपलब्ध गराएको छ । पचासभन्दा माथि भेडा–च्याङ्ग्रा पालेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ‘हेरालो भत्ता’ दिएको हो ।'

कार्यक्रम यो आर्थिक वर्षमा समेत निरन्तर रहेको बताउँदै निर्देशक पङ्गेनीले अहिले केही जिल्लामा ‘हेरालो भत्ता’का साथै औषधि र बन्दोबस्तीका सामान पनि उलब्ध गराउने सुविधा थपिएको जानकारी दिनुभयो ।

निर्देशनालयले जुम्लाका दुई सय २५ कृषकलाई ३३ लाख रूपैयाँ वितरण गरेको छ । त्यस्तै  हुम्लाका एक सय नौ कृषकलाई १५ लाख ६९ हजार, मुगुका ५३ कृषकलाई १० लाख ५० हजार र डोल्पाका ५३ कृषकलाई नौ लाख ५४ हजार रकम प्रदान गरेको छ ।

प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याएको जनाइएको छ ।


प्रतिकृया दिनुहोस