२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

फेरि दूधको मूल्य बढाइँदै

- विशेष खबर मङ्गलबार ०२, फागुन २०७९ ०८:५६

फेरि दूधको मूल्य बढाइँदै

काठमाडाैं । उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा सरकारले एक वर्षमै मूल्य बढाउन गृहकार्य थालेको छ । यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो ।

अन्य सामानको मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा आफूखुसी प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरे पनि अहिले फेरि सरकारसँग मिलोमतो गरेर मूल्य बढाउन चलखेल थालिएको हो ।

सरकारले किसानको लागत, बजार मूल्य तथा उपभोक्ताको क्रयशक्ति हेरेर वैज्ञानिक रूपमा अध्ययन गर्ने बताए पनि पर्याप्त अध्ययनबिनै मूल्य बढाउन गृहकार्य सुरु भएको हो ।

उद्योगीहरू आफूअनुकूल मूल्य बढाउन लागिपरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए । दूधमा अचाक्ली मूल्य बढाउने खेल भइरहेको उनको भनाइ छ ।  

राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न मिल्छ । उद्योगीहरूले दाना, चोकर, परालको मूल्य, ढुवानी खर्च बढेको बताउँदै मूल्य बढाउन दबाब दिएको तिमिल्सिनाले बताए ।  

 


प्रतिकृया दिनुहोस