२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौं लगिने

- विशेष खबर सोमबार ०२, माघ २०७९ ०८:५६

विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौं लगिने

कास्की । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौं लगिने भएको छ ।

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। उनका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौंबाट आएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका थिए । शव राजधानी लैजान आज नै सेनाको हेलिकप्टर पोखरा आए पनि प्रक्रिया पूरा नहुँदा रोकिएको थियो ।

दुर्घटनामा परेको विमानको ककपिट  भ्वाइस  रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।


प्रतिकृया दिनुहोस