२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

गुल्मीका युवकले दुबईमा जिते ३५ करोडको चिठ्ठा

- विशेष खबर बिहिबार ०६, असोज २०७९ १२:०५

गुल्मीका युवकले दुबईमा जिते ३५ करोडको चिठ्ठा

काठमाडौं । दुबईमा काम गर्दै आएका एक नेपाली युवकलाई १ करोड दिराम (झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । गुल्मीका ३१ वर्षीय भरत विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् ।

यूएईको समाचार संस्था खालिज टाइम्सका अनुसार भरत दुबईमा कार धुने काम गर्दै आएका छन् । उनले चिठ्ठामा जितेको पैसाले घर परिवार राम्रोसँग व्यवस्थापन गर्ने बताएका छन् । २५ वर्षीय भाइको उपचारका लागि पैसा जुटाउन दुबई पुगेका उनी ३ वर्षअघि दुबई पुगेका हुन् । उनका भाइ ब्रेन ट्युमरबाट पीडित छन् । उनका बुवा पनि भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । बुवाछोरा मिलेर भाइको उपचारका लागि पैसा जुटाइरहेका थिए ।

खालिज टाइम्ससँगको कुराकानीमा उनले भनेका छन्, 'मेरो भाइको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । अपरेसनका क्रममा उनलाई प्यारालाइसिस भएको छ । उनको श्रवणशक्ति पनि गुमेको छ । यो पैसाले भाइको उपचार सहज हुने भएको छ ।' उनीसँग बैंकखाता नभएकाले लट्री कम्पनीले नै खोलिदिन लागेको छ ।

महजूजको अपरेटर इविंग्सका सीईओ फरिद साम्जी भन्छन्, 'हामीले उहाँको खाता खोल्न सघाएर पैसा ट्रान्सफर गर्दैछौँ ।' भरतले बाँकी पैसा आफ्ना ५ वर्षीय छोरा र ३ वर्षीया छोरीको सुखद भविष्य निर्माणमा खर्चिने बताएका छन् ।

सेप्टेम्बर २७ मा नेपाल फर्किने तयारीमा रहेका भरतले नियमित रूपमा महजूज लट्री किन्दै आएका थिए । पछिल्लो पटक 'घर जानुभन्दा अघि एउटा लट्री किनौँ न' भनेर किनेको पनि उनी बताउँछन् । 'रातिको १ बजेको थियो, घर जानुभन्दा अघि एक पटक चिठ्ठा खेल्नुपर्छ भन्ने लागेर किनेको थिएँ,' उनले भने ।

जीवनमै नयाँ मोड ल्याउने भरतले किनेको लट्री टिकटको नम्बर थियो १६, २७, ३१, ३७, ४२ । साढे २ वर्षदेखि नियमित रूपमा चिठ्ठा खेल्दै आएका उनले १६ र २७ नम्बर सधैँ छान्ने गर्थे, जुन उनका लागि विशेष पनि हो । उनी भन्छन्, '२७ गते म जन्मेको दिन हो भने १६ मैले विवाह गरेको दिन ।'

भरतले कार धुँदै गर्दा नै चिठ्ठा जितेको थाहा पाएका थिए । चिठ्ठा विजेता घोषणाको क्षण सम्झिँदै उनी भन्छन्, 'मेरा साथीहरू मसँगै थिए । प्रत्येक नम्बर मिल्दै थियो । उनीहरू पनि उत्साहित थिए । जब अन्तिम नम्बर मिल्यो उनीहरू खुसीले उफ्रिए । त्यो रात म निदाउनै सकिनँ । अर्को दिन कार धुँदै थिएँ, महजूजबाट एक जना महिलाले फोन गरिन् ।'

भरत अब पूर्वनिर्धारित समयमा भने घर नफर्किने भएका छन् । सबै प्रक्रिया पूरा भएपछि मात्र उनी घर फर्किने बताएका छन् । उनले परिवारलाई पनि अहिलेसम्म पूरा जानकारी नगराएको बताउँछन् । 'मैले परिवारलाई चिठ्ठामा कति जितेँ भनेर भनेको छैन । मैले परिवारलाई चिठ्ठा जितेँ मात्र भनेको छु । मैले घर गएर सबैलाई सरप्राइज दिने सोचेको छु ।' भरत नेपालबाट महजूजको सबैभन्दा ठूलो रकमको चिठ्ठा जित्ने पहिलो व्यक्ति हुन् । दुबई आउनुभन्दा अघि उनी साउदी अरेबियामा काम गरेका थिए ।

यूएईको प्रतिष्ठित मानिने महजूजले अहिलेसम्म ९ अर्ब ८५ करोड रुपैयाँ विजेताहरूलाई दिइसकेको छ । महजजूबाट करोडपति बन्ने भरत २८औं व्यक्ति हुन् । महजूजको एउटा टिकटको मूल्य ३५ दिराम (करिब १२ सय नेपाली रुपैयाँ) पर्छ । (एजेन्सीकाे सहयाेगमा)


प्रतिकृया दिनुहोस