२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

आजदेखि बजेटमा मन्त्रालयगत छलफल

- विशेष खबर सोमबार २३, जेठ २०७९ ०८:०२

आजदेखि बजेटमा मन्त्रालयगत छलफल

काठमाडौं । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

मन्त्रालयगत र मातहतका कार्यालयको बजेटमा छलफल सकिएपछि जवाफका लागि विभागीय मन्त्रीहरुलाई दुई दिनको समय छुट्याइएको छ । बिहीबार र शुक्रबार मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ ।

आजको बैठकमा बजेटमाथिको छलफल सुरु गर्नुअघि सभामुख अग्नि सापकोटाले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तयार पारिएको छ । कानुन मन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको अन्तिम सूची तयार पार्ने भएकाले सम्भावित कार्यसूचीमा हेरफेर हुनसक्ने संसद सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस