२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

डिजल-पेट्राेल लिटरमा १०, खाना पकाउने ग्यासमा २ सय रूपैंया बढ्याे

- विशेष खबर सोमबार ०९, जेठ २०७९ ०७:४९

डिजल-पेट्राेल लिटरमा १०, खाना पकाउने ग्यासमा २ सय रूपैंया बढ्याे

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १० रुपैयाँले बढाएर १८० पुर्‍याएको छ ।

डिजल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँले बढाएर १६३ बनाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर २०० रुपैयाँले बढाएर १८०० पुर्‍याइएको छ ।

मूल्य समायोजनपछि पनि निगम मासिक रूपमा एलपी ग्यासमा तीन अर्ब, डिजलमा करीब तीन अर्ब ४० करोड र पेट्रोलमा करीब एक अर्ब घाटामा रहेको निगमले दाबी गरेको छ।

हवाई इन्धनतर्फ आन्तरिकका लागि प्रति लिटर १० रुपैयाँले बढाएर १६६ बनाइएको छ । महँगो मूल्यमा इन्धन खरीद गर्दा विदेशी मुद्रा सञ्चितिमा असर परेको भन्दै निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न र विद्युत् लगायत स्वेदशी उर्जाको खपत बढाउन समेत उपभोक्तासँग अनुरोध गरेको छ ।

निगमले इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरीद बापत मे महिनामा ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा २० अर्ब ६० करोड रुपैयाँ बिक्री बापत प्राप्त भई पठाइएको र बाँकी २२ अर्ब ४० करोड रुपैयाँ भुक्तानी हुन नसकेको जनाएको छ ।


प्रतिकृया दिनुहोस