२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

चुनावका बेला इन्टरनेट र टीभी बन्द हुनसक्ने सेवा प्रदायकको चेतावनी

- विशेष खबर शनिबार १७, बैशाख २०७९ ०५:०५

चुनावका बेला इन्टरनेट र टीभी बन्द हुनसक्ने सेवा प्रदायकको चेतावनी

काठमाडौं। आउने हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूले जनाएका छन् । आफ्ना अपस्ट्रिम सेवाप्रदायक (टाटा, एयरटेल, सिफि) लाई ब्यान्डविथ खरिदबापतको भुक्तानीको लागी सरकारले विदेशी मुद्रा सिफारिस नगरेकाले इन्टरनेट काटिनसक्ने सेवा प्रदायकहरूको भनाइ छ।

'विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिती आएको छ,' इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्नका लागि विदेशी मुद्रा सिफारिस रोकेकोजस्तो देखिन्छ । चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।'

मन्त्रालयले बेरुजुको विषयलाई लिएर अनेकन बाहनामा विदेशी मुद्रा सिफारिस रोकेर नीजि क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको आईस्पानको भनाइ छ । टेलिभिजन सेवा प्रदायकहरूलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकाले टीभी सेवा पनि बन्द हुने स्थितीमा पुगेको विज्ञप्तीमा छ ।

आईस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । संस्थाले दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधी नगर्ने निर्णय गरेको छ । सरकारले सूचना र सञ्चार प्रविधिको लागि आवश्यक वातावरण नबनाइ, इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा देखावटी काम मात्रै गर्दै आएको आईस्पानको ठहर छ ।


#इन्टरनेट # प्रविधि

प्रतिकृया दिनुहोस