२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

हेटौँडामा बर्डफ्लू पुष्टि, ३ हजार ४५३ कुखुरा नष्ट

- रासस शुक्रबार १६, बैशाख २०७९ ०४:०८

हेटौँडामा बर्डफ्लू पुष्टि, ३ हजार ४५३ कुखुरा नष्ट

काठमाडाैं। हेटाैँडाको एक कुखुरा फार्ममा बर्डफ्लू  पुष्टि भएपछि उक्त फार्मका तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । 

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटाैँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सख्यांमा कुखुरा मरेपछि शकां लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौं पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासंगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । 

पशुपक्षी तथा मत्स्य निर्देशनालय हेटौँडाका निर्देशक गोपालप्रसाद शाहले बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार बर्डफ्लू भएको स्थानमा नियन्त्रण तथा नियमन गरिने र कानूनी प्रवधानअनुसार किसानलाई राहत उपलब्ध गराउने बताए । 


#बर्डफ्लू

प्रतिकृया दिनुहोस