२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

यातायात भाडा समायोजन गर्न महासघंकाे माग

- रासस सोमबार २३, फागुन २०७८ ०७:४३

यातायात भाडा समायोजन गर्न महासघंकाे माग
फाइल तस्बिर।

काठमाडाैं । सार्वजनिक यातायात केन्द्रीय महासघं नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासघंले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो । 

सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ ।

महासघंले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएपछि आन्दोलित हुनुपरेको जनाएको छ । 

महँगोमा इन्धन खरिद गरेर घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेको महासघंका महासचिव भरत नेपालले बताए । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले नेपालमा डिजेलको मूल्य प्रतिलिटर रु १३३ र पेट्रोलको मूल्य प्रतिलिटर रु १५० पुगेको छ ।

यातायात क्षेत्रको सुधारका लागि महासघंले दिएको सुझावको सरकारले बेवास्ता गरेको भन्दै उनले आगामी चैत १ गतदेखि दबाबमूलक कार्यक्रम सार्वजनिक गरिने समेत बताए ।


#सार्वजनिक यातायात #पेट्रोलियम पदार्थ

प्रतिकृया दिनुहोस