- विशेष खबर सोमबार २३, फागुन २०७८ ०७:१८
सोलुखुम्बु । लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी हुँदा उडान प्रभावित बनेको छ । जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान प्रभावित भएको हो ।
पर्यटकीय सिजन सुरु भएसँगै हवाई उडानको संख्या बढिरहेका बेला आगलागीका कारण दिउँसो २ घण्टा विमानस्थल नै बन्द गर्नु परेको हो । ‘धुवाँको मुस्लोले उडान गराउनै सकिएन, विमानस्थल नै बन्द गर्नु पर्यो’ लुक्ला विमानस्थलका प्रमुख द्वारिका अछामीले भने । प्रमुख अछामीका अनुसार विमानस्थलमा आगालागीका कारण धुवाँले घेरेको थियो ।
आगलागीको बारेमा बिहान नेपाल प्रहरीलाई स्थानीयले जानकारी गराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जंगल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
मानवीय संसाधनले आगलागी नियन्त्रण हुन नसकेपछि हेलिकप्टर प्रयोग गरेर आगलागी नियन्त्रणको प्रयास गरिएको थियो । ‘अनकण्टार र अप्ठ्यारो भीरमा आगलागी भएकाले हामीले हेलिकप्टर परिचाल गर्यौं, त्यति गर्दा पनि आगो नियन्त्रणमा आउन सकेन’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए ।
आगोले अहिलेसम्म कति हेक्टर वन क्षति भयो भन्ने यकिन जानकारी लिन नसकिए पनि १० हेक्टरभन्दा माथि जंगल क्षति भएको अनुमान गरिएको छ । ‘धेरै वन क्षेत्र नष्ट भइसक्यो, बस्तीमा जोगाउनका लागि भने अग्नि रेखा कोरेर नियन्त्रणको काम गरिरहेका छौं’ डीएसपी कटवालले भने । अहिले पनि आगलागी भइरहेकाले विमानस्थलको हवाई उडानमा भने खतरा कायामै रहेको विमानस्थल कार्यालयले जनाएको छ । -इकान्तिपुर
प्रतिकृया दिनुहोस