२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

अस्थिर नीतिको कारण मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न सकेनः वरिष्ठ उपाध्यक्ष ढकाल

- विशेष खबर आइतबार २२, फागुन २०७८ ०६:३५

अस्थिर नीतिको कारण मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न सकेनः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन् ।

'मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दिगो र स्थिर नीति जरुरी हुन्छ । हामीकहाँ छोटो छोटो समयमा नीतिहरु परिवर्तन भइरहँदा दिगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरु लाग्ने गरेको देखिन्छ । यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन,' उनले भने । 

शनिबार शिद्धार्थ उद्योग वाणिज्य संघको ६३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउदा सम्बन्धित सरोकारवालाहरुसँग गहन छलफल गर्न आवश्यक रहेको बताए ।
 
'अहिले सरसर्ति हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ । यसले गर्दा धेरै व्यवसायी साथीहरु आतंकित भएको जस्तो पनि देखिन्छ । केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीहरुलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो । त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए' उनले भने । 

अहिले बजारमा देखिएको तरलताको अभाव भनौ वा आर्थिक गतिविधिमा देखिएका मन्दिहरु सबै अस्थिर नीतिसँग जोडिएका छन्, ढकालले भने, यसले आम व्यवसायीलाई भय र त्रासको वातावरण बनाएको छ । 

सरकारी राजश्व संकलनमा निजी क्षेत्रको ठूलो भूमिका रहेका बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले नयाँ नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति निर्माणमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने  समेत बताए ।
 


#चन्द्रप्रसाद ढकाल #नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिकृया दिनुहोस