२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

लिजेन्ड क्रिकेटर शेन वार्नकाे निधन

एजेन्सी शनिबार २१, फागुन २०७८ ०९:०४

लिजेन्ड क्रिकेटर शेन वार्नकाे निधन

सिड्नी। अस्ट्रेलियाली क्रिकेटका महान् हस्ती शेन वार्नको शुक्रबार हृदयाघातका कारण निधन भएको छ । टेस्ट क्रिकेटका सर्वकालीन महान् खेलाडी ५२ वर्षका थिए । उनको निधनको व्यवस्थापन कम्पनीले पुष्टि गरेको छ । कम्पनीका अनुसार संन्यास लिइसकेका लेग स्पिनर वार्नको निधन थाइल्यान्डको कोह सामुईमा भएको थियो ।

कम्पनीले भनेको छ, ‘निकै दुःखले भन्नुपरेको छ, हाम्रा वार्नको निधन भएको छ । सम्भवतः हृदयाघातका कारण शुक्रबार थाइल्यान्डमा उनको निधन भएको हो । उनी आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका थिए । सबै प्रकारका उपचारका लागि प्रयास भए पनि उनलाई बचाउन भने सकिएन ।’ वार्नको परिवारले निधनलाई लिएर आउने समय थप जानकारी दिने जनाएको छ ।

अस्ट्रेलियाली क्रिकेटका अर्का पूर्वखेलाडी रड मार्सको निधन भएको १२ घण्टापछि वार्न पनि नरहेको समाचार आएको हो । आफ्नो १५ वर्ष लामो खेलजीवनका क्रममा वार्नले लेग स्पिन बलिङलाई फेरि ब्युँत्याएको मानिन्छ । उनले ७ सय ८ टेस्ट विकेट लिएका छन् । सर्वाधिक विकेट लिने सूचीमा श्रीलंकाली अफ स्पिनर मुथैया मुरलिधरनपछि दोस्रो स्थानमा छन् । मुरलिधरनले ८ सय टेस्ट विकेट लिएका छन् ।

विजडेनले शताब्दीकै पाँच खेलाडीको सूचीमा वार्नलाई पनि समावेश गरेको थियो । उनीबाहेक अन्य चार नाम डोनाल्ड ब्रेडम्यान, गारफिल्ड सोबर्स, ज्याक हब्स र भिभ रिचर्डस छन् । आफ्नो रंगीन जीवनका लागि परिचित वार्नले सन् १९९९ मा अस्ट्रेलिया विश्वकप क्रिकेटको उपाधि उचाल्दा प्रमुख भूमिका खेलेका थिए । उनले १ सय ९४ एकदिवसीयमा २ सय ९२ विकेट लिए ।

सन् २००३ को विश्वकपमा भने उनी ड्रग्स टेस्टमा असफल रहे । उनीमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो । उनले अस्ट्रेलियाली घरेलु क्रिकेटमा भिक्टोरियासँगै इंग्लिस काउन्टी ह्याम्पसायरका लागि पनि खेले । उनले इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्स र बिग बासमा मेलबर्न स्टार्सका लागि खेलेका थिए ।


#शेन वार्न #अस्ट्रेलिया #क्रिकेट

प्रतिकृया दिनुहोस