२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

महाशिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

- रासस बुधबार ११, फागुन २०७८ ०६:२१

महाशिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन् । 

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेले आज कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिए । उनले भने, 'भव्य र सभ्यरुपमा महाशिवरात्रि मनाउन सबै लागि परौँ, भक्तजनलाई कुनै पनि कुराको कमी नहोस् ।'

महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउ बनाउनसमेत निर्देशन दिएका छन् । शिवरात्रि पर्वको समयमा देश विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायतका कुरामा अहोरात्र खट्न उनले आग्रह गरे । 

पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पु¥याउन एम्बुलेन्सको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् । यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रका पर्खालहरुमा भगवान्का चित्र निर्माणको कार्य तत्काल सक्न आग्रह गरेका छन् ।

यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १७ गते मगंलबार परेको छ । यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा १० लाख दर्शनार्थी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको छ ।


#प्रेमबहादुर आले #महाशिवरात्रि

प्रतिकृया दिनुहोस