२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

आजदेखि रेलकाे 'ड्राइ रन', उद्घाटन नभएसम्म बिना यात्रु चलाइने

- विशेष खबर आइतबार ०१, फागुन २०७८ ०७:३८

आजदेखि रेलकाे 'ड्राइ रन', उद्घाटन नभएसम्म बिना यात्रु चलाइने

जनकपुर । झन्डै डेढ वर्षदेखि धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा पार्किङ गरेर राखिएको रेल आजदेखि बिना यात्रु संचालन गरिने भएकाे छ । 

बिहान १० बजे इनर्वाबाट रेल जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम छ। यात्रुलाई नराखी रेलको ड्राई रन सुरु गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । इनर्वाबाट आउने रेल जनकपुर स्टेसनमा केही समय रोकिएर कुर्थाका लागि प्रस्थान गर्नेछ । कुर्थामा केही समयको विश्रामपछि रेल पुनः इनर्वा फर्किनेछ झाले बताए । रेलमा यात्रु आसारपसार भने उद्घाटनपछि मात्रै हुनेछ ।

रेल सञ्चालनमा ल्याउनुअघि सम्भावित खराबीको परीक्षणका लागि ड्राई रन गर्न लागिएकाे हो । अब उद्घाटन नभएसम्म दिनको एकपटक इनर्वा हुँदै कुर्थासम्म पुगेर फेरि इनर्वा फर्किनेछ ।  

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ । दुवै मुलकका प्रधानमन्त्रीको समयतालिका नमिल्दा रेल सेवा थालनीमा ढिलाइ भएकाे छ ।  

सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल २०७७ असोज २ मा जयनगरबाट जनकपुर ल्याइएको थियो । तत्कालका लागि जयनगरबाट कुर्थासम्म समान्य सिटको भाडा ७० र एसी सिटको ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतिकृया दिनुहोस