२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

दूधकाे मूल्य बढ्याे, उपभोक्तालाई थप १४ रुपैयाँसम्म भार

- विशेष खबर शुक्रबार २८, माघ २०७८ ०८:५२

दूधकाे मूल्य बढ्याे, उपभोक्तालाई थप १४ रुपैयाँसम्म भार

काठमाडौं । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्ता मूल्य भने १४ रुपैयाँसम्म वृद्धि गरेको छ ।

फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टी–मिल्कमा १०, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाइएको डीडीसीले जनाएको छ । संकलन, ढुवानी खर्च, प्याकेजिङ, प्रशासनिक खर्चलगायत जोडेर वैज्ञानिक आधारमा उपभोक्ता मूल्य तोकेकाे डीडीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । 

माघ १७ को मन्त्रिपरिषद् बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा कच्चा दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गरेको थियो । कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरूले उपभोक्ता मूल्य बढाउन दबाब दिएका थिए । उनीहरूले स्ट्यान्डर्ड दूधको उपभोक्ता मूल्यमा १० रुपैयाँ बढाउन दबाब दिएका थिए । कच्चा दूधको न्यूनतम मूल्य निर्धारण भएपछि घाटा लाग्ने भन्दै प्रदेश १ र ५ (लुम्बिनी प्रदेश) का डेरीहरूले उपभोक्ता मूल्य बढाइसकेका थिए । उनीहरूले सरकारी धारणा आउनुअगावै मूल्य तोकेका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएपछि डीडीसीले उपभोक्ता मूल्य बढाएको हो । अहिले डीडीसीले आधा लिटर स्ट्यान्डर्ड दूधको मूल्य ३८ रुपैयाँ तोकेको छ । अब भने आधा लिटरलाई साढे ४२ रुपैयाँ पर्नेछ । यो मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा लागू हुन्छ । बुटबल र भैरहवा क्षेत्रमा भने आधा लिटरको मूल्य ४० रुपैयाँ ५० पैसा पर्ने डीडीसीले जनाएको छ । नेपालगन्ज र धनगढी क्षेत्रमा आधा लिटरलाई ३९ रुपैयाँ ५० पैसा तोकिएको छ । स्ट्यान्डर्ड दूधको मूल्य मुलुकभर नै प्रतिलिटर ९ रुपैयाँ बढाएकाे झाले बताए ।

डीडीसीले स्ट्यान्डर्ड दूध प्रतिदिन ५५ हजार लिटर बिक्री गर्छ । यही दूधलाई आधार मानेर सरकारले मूल्य निर्धारण गर्दै आएको छ । २०७६ भदौ २१ मा मूल्य समायोजन हुँदा उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । अब प्रतिलिटर ८५ रुपैयाँ बनाएकाे झाले बताए । टी–मिल्कमा १.५ प्रतिशत फ्याट र ९.५ प्रतिशत एसएनएफका आधारमा प्रतिलिटर १० रुपैयाँ बढाएर ८० रुपैयाँ तोकिएको उनको भनाइ छ ।

दूधको मूल्यवृद्धि भएसँगै डीडीसीले दही, पनिर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाई, रसबरीलगायतको मूल्य पनि बढाउने तयारी गरेको छ । दूधको मूल्यवृद्धिले उपभोक्ता मारमा परिरहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले बताए । बढेको मूल्य किसानले नपाउने तर उपभोक्ता मूल्य अचाक्ली बढाउने गरिएको उनको भनाइ छ । 


प्रतिकृया दिनुहोस