- रासस बुधबार २६, माघ २०७८ ०६:५७
काठमाडाैं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई चार खर्ब ६८ अर्ब ४५ करोड रूपैंया कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई एक लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७५.५ प्रतिशतले घटेको थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई पाँच खर्ब २३ अर्ब एक करोड रूपैंया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।
प्रतिकृया दिनुहोस