- विशेष खबर बिहिबार २०, माघ २०७८ ०१:४७
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ ।
राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ? लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ । माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ ।
हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक शंकास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ । तर, अहिले ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण राष्ट्र्र बैंकले बैंकहरुसँग मागेको छ ।
सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।
खासगरी पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको स्रोतले बताएको छ ।
प्रतिकृया दिनुहोस