२०७८ माघ १२ गते बुधबार | 26 January, 2022

थारु बस्तीमा माघीकाे राैनक

- रासस शुक्रबार ३०, पुष २०७८ १२:०९

थारु बस्तीमा  माघीकाे राैनक
माैलिक पहिरन साथ नृत्य गर्दै थारू समुदायका युवती । फाइल तस्बिर

राजेन्द्रप्रसाद पनेरू
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त छिन्। माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किनका लागि उनी तीन दिनअघि देखिनै दुनाटपरी लगाउन थालेकी हुन् । 'माघी पर्व सुरू भइसक्याे । तयारीका लागि व्यस्त हुनुपरेको छ,' उनले भनिन्,;घरका पुरुष सुँगुर खोज्नमा जुटेका छन् । महिला दुनाटपरी बनाउने कार्यसँगै कुटानीपिसानीमा व्यस्त छौं ।' 

माछाको जोहो गर्नका लागि तयारी हुँदै गरेको उनले बताइन् । 'पहिला ढिक्कीमै धान कुटेर चामल बनाइ माघी आउन एक दिन अगावै त्यसलाई भिजाएर ढिक्कीमै कुट्ने गर्दथ्यौं,' उनले भनिन्, 'कुटेर बनाइएको चामलको पिठोबाट ढिक्री तयार गरिन्थ्यो । त्यसलाई निकै पवित्र मानिन्थ्यो । आजभोलि त्यो चलन हटदै गएको छ ।'

 उनले कुटानीपिसानी मिलमै कुटिएको धानको चामलकै प्रयोगलाई बढावा दिन थालिएपछि महिलाले बिहानीको झिसमिसेमै उठेर माघीका लागि चामल कुटनुपर्ने अवस्था अब नरहेको बताइन् । मिलमै पिसिएको चामलको पिठोबाट थारु समुदायले माघी पर्वका लागि मौलिक परिकार ढिक्री बनाउने गर्छन्।

ढिक्री देवीदेउतालाई पुज्ने कार्यसँगै घरमा पाहुना लाग्न आएकालाई सुँगुरको मासु, माछासँग खान दिइने गरिन्छ । सुँगुर खोज्ने र मार्नेकार्य माघी पर्व आउन एक दिन अगावै गरिन्छ । त्यसलाई ‘जिता मर्ना दिन’ भन्ने गरिन्छ । यस दिन गाउँ टोलका सबै जना मिलेर सुँगुर काटने कार्य पुस्तौंदेखि गर्दै आएको भलमन्सा रामप्रसाद चौधरीले बताए । 

'सुँगुर काटनुपर्ने भएकाले त्यसको व्यवस्था गर्नमा जुटेका छौं,' उनले भने, 'एक टोलका लागि सुँगुरको व्यवस्था भइसकेको छ । अर्को टोलका लागि खोज्दै छौं ।' 

नवलपुरको कावासोतीमा रहेको अमलटारी घरबासमा थारू समुदायको परिकार चिच्चर पकाइँदै । अनदीको चामललाई बाफको माध्यमबाट पकाइने यो परिकार थारू समुदायको लोकप्रिय परिकारमध्ये एक हो । तस्बिर : दयाराम आचार्य/रासस

माघी पर्व सुरु हुनु एकदिन अगावै  गाउँका थारु समुदायले सामूहिक रुपमै सुँगुर, बाख्रा, कुखुरा काटेर खाने गरिए पनि माघ महिना सुरु भएपछि कुनै पनि जनावरको बध गर्न भने बर्जित रहेको छ । माघीका लागि छोक्रा र मघौटा नृत्य टोलीको व्यवस्थापनको कार्यसमेत भइसकेको भलमन्सा चौधरीले बताए। उनका अनुसार माघको पहिलो दिन बिहानै नदी तलाउमा नुहाएर घरका ठूलावडाको आर्शिवाद लिने कार्य गरिन्छ । 

'गाँउ नजिकैको नदी, तलाउ, कुवामा गै  सूर्य नउदाउँदै फूल चामल पैसा हातमा लिई नुहाइ ढुङगालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाइ भगवान महादेवको दर्शन गर्नुपर्ने हुन्छ,' उनले भने, 'नदी तलाउमा नुहाएर र महादेवको दर्शन गरे वर्षभरी गरेका पापकर्म हराएर जाने जनविश्वास छ ।' 

नुहाउने क्षेत्रमा सरसफाइ र व्यवस्थापनको कार्यमासमेत थारु समुदायका अगुवा जुटेका छन् । नुहाएर घर फर्केपछि दिदीबहिनी फूपु, भाञ्जाभाञ्जीका लागि पाँचदेखि सात अञ्जुली चामल, नून, खुर्सानी छुट्यार्ई यस अवसरमा निसराउ दिने चलन रहेको छ । त्यसपछि गाउँका मान्यजनबाट आर्शिवाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ ।

आशिर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसी विशेष प्रकारले बनेको चामलको पिठोको ढीक्री, सुँगुरको मासु, अनदी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिएको छ । बडघरीयाको घरबाट सुरु गर्दै मघौटा छोक्रा नाच गाउँका सबैको घर घरमा भएर नाच्दै  मनोरञ्जन लिइने गरिन्छ । मघौटा नाचमा नाच्नेले उतानो परी आँखाको परेला र मुखबाट पैसा उठाउने कला देखाउने गर्दछन् । रोमाञ्चले भरिएको नाच हेर्नको उत्सुता यस बेला बेग्लै प्रकारको हुने गरेको छ ।

माघको दोस्रो दिन गाउँका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने  विकास निर्माण, विवाह, अंशबण्डा, सामाजिक कार्यको योजाना बनाइने गरिन्छ । विगतका वर्षको योजनाको समीक्षा गरिन्छ । यसै दिन गाउँको योजना कार्यान्वयनको नेतृत्व लिने वडघरीयाको छनोट गरिन्छ । गाउँमा आउने रोगव्याधी, दैवी प्रकोप हटाउनका लागि धार्मिक मान्यताअनुरुप गुरुवा, गाउँमा खबर आदानप्रदानको व्यवस्था गर्न चौकिदारको छनोट गरिँदै आएको थारु अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए । थारु बुढापाकाका अनुसार माघी पर्वसँगै नयाँ कामको सुरुआत हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेका छन् । 

यसलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । थारु पात्रो अनुसार यो वर्ष थारु संवत् २६४५ रहेको छ । माघ महिनालाई थारु समुदायले शुभ महिनाका रुपमा लिने गर्छन्। यस महिनामा गरिने सम्पूर्ण कार्य सफल हुने जनविश्वास लिइने गरिएको छ ।

माघीमा गाउँघरमा ढोग स्यावा लाग्ने, दिदीबहिनीलाई कोसेलीसहित भेट्न जाने, मघौटा नाचको आयोजना गर्ने, अंशबण्डा गरिने, गुरुवा केशौका र बडघर चुन्नेलगायत कार्य परम्परागत कालदेखि चल्दै आएको छ । 


प्रतिकृया दिनुहोस