२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

भारतमा तीब्र फैलिँदै कोरोना, एकै दिन १ लाख ४१ हजार संक्रमित थपिए

आइतबार २५, पुष २०७८ ०९:१२

भारतमा तीब्र फैलिँदै कोरोना, एकै दिन १ लाख ४१ हजार संक्रमित थपिए

काठमाडाैं ।  भारतमा एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १लाख ४१ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन्।

यो अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो। यो संख्या पछिल्लो ६ महिनाकै ठूलो हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा सक्रिय संक्रमितको संख्या बढेर ४ लाख ७२ हजार १ सय ६९ पुगेको छ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या ३ हजार ७१ पुगेको छ । भारतका २६ राज्यमा फैलिइसकेको ओमिक्रोनबाट पछिल्लो २४ घन्टामा ४९५ जना संक्रमित भएका छन्। 

पछिल्लो २४ घन्टामा ४० हजार ८ सय ९५ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घन्टामा थप २८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार भारतको महाराष्ट्र, पश्चिम बंगाल र दिल्लीमा सर्वाधिक संक्रमित फेला परेका छन्। महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।  

महाराष्ट्रको मुम्बई महानगरमा मात्र शनिबार २० हजार भन्दा बढी संक्रमित फेला परेका छन्। यहाँ पछिल्लो २४ घन्टाको तथ्याङ्क अनुसार २० हजार ३ सय १८ जनामा कोरोना संक्रमण फेला परेको छ।

महाराष्ट्रमा सोमबारदेखि बिहान ५ बजेदेखि राति ११ बजेसम्म एकै ठाउँमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ। सार्वजनिक स्थानमा ५ जनाभन्दा बढीको समूह बनाएर हिँडडुल गर्न नपाउने भएको छ।

राजधानी नयाँ दिल्लीमा शनिबार २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनका अनुसार दिल्लीमा हरेक दिन कोरोनामा नयाँ संक्रमित २० प्रतिशतले बढिरहेका छन्। दिल्लीमा पछिल्लो मे ५ पछि सर्वाधिक संक्रमित शनिबार फेला परेका हुन्।


प्रतिकृया दिनुहोस