२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रधानमन्त्री देउवा

- रासस बिहिबार १५, पुष २०७८ ०६:०८

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा तमू ल्होसारको अवसरमा टुडिखेलमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै । तस्बिरः रासस

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । तमू ल्होसार २०७८ का अवसरमा आयोजित कार्यक्रममा उनले यस पर्वले तमू गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गरे।  

उनले यस पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु¥याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे । तमू (गुरुङ) समुदायले यस पटकको आफ्नो महान् चाड तमू ल्होसार ‘ल्वों ल्हो’ (गाई वर्ग) वर्षको बिदाइ तथा ‘तो ल्हो’ (बाघ वर्ग) वर्षको स्वागत गरी मनाइरहेका छन् ।

प्रधानमन्त्री देउवाले भने, 'नेपाल विभिन्न जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरू मिलेर बनेको साझा देश हो । सबै समुदायहरूबीच रहेको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुता तथा साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो । यिनै साझा र मौलिक सांस्कृतिक पक्षहरूले अनेकतामा एकताको भावना सिर्जना गर्दै हाम्रो राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ तुल्याएका छन् ।'

ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड हो । यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ । नेपालमा यो समुदायले मनाउने ल्होसारहरूमा तमू ल्होसार, (तोला ल्होसार), सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् ।

यीमध्ये तमू ल्होसारको आफ्नै विशिष्ट इतिहास र परम्परा रहेको उल्लेख गर्दै उनले आदिमकालमा कुनै वैज्ञानिक गणना पद्धतिको विकास नहुँदाको समयमा पनि यस समुदायका त्यतिबेलाका अग्रज पुर्खाहरूले विभिन्न जीवजन्तुलाई आधार बनाई वर्ष गणना गर्ने पद्धतिको विकास गरेको बताए । त्यही परम्पराको निरन्तरताको रूपमा आजको दिनलाई गुरुङ जातिले तमू ल्होसारका रूपमा मनाउने गरेका छन् ।  
 


#शेरबहादुर देउवा #ल्होसार

प्रतिकृया दिनुहोस