२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु

- रासस आइतबार २६, मङि्सर २०७८ ०९:५२

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु

कञ्चनपुर । कञ्चनपुरकाे लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ ।

झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए। घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए । 'हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे', उनले भने, 'खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पु¥याउँदा ज्यान गयो ।' शिवरमा रानाका श्रीमती, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए ।

हात्तीले शिविरका  २० झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका संख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उनको भनाइ छ ।

हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।

शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए। हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए ।


#कञ्चनपुर #हात्ती #आक्रमण

प्रतिकृया दिनुहोस