२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

भारतमा देखियो ओमिक्रोन, जोखिममा नेपाल

- विशेष खबर बिहिबार १६, मङि्सर २०७८ १०:१८

भारतमा देखियो ओमिक्रोन, जोखिममा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतमा काेराेना भाइरसकाे नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएसँगै नेपाल पनि जोखिममा परेको छ । बिहीबार दुई जनामा पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

६६ वर्ष र ४६ वर्षका पुरुषमा यो भेरिएन्ट पुष्टि भएको छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्ट पुष्टि भएकोमा बिहीबार साँझसम्म भारत गरी ३० देशमा  फैलिसकेको छ र ३७५ जना संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको यो भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै वैज्ञानिकहरुले बताइरहेका छन् । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा, बोट्सवाना, जर्मनी, इजरायल, बेलायत, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेका छन् ।

नेपाल छिर्ने यात्रुको कडाइ नगरे तथा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिए ठूलो लहरको सामना गर्नुपर्ने खतरा रहेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता जनाएका छन् । ओमिक्रोनको जोखिमका कारण सरकारले बुधबार आवश्यक नपरेको खण्डमा विदेश भ्रमण नगर्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गरिरहेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले भारतमा देखिएसँगै नेपाल पनि जोखिममा भएकाले यसतर्फ सचेत रहेको बताउँदै आवश्यक निगरानी गरिरहेको बताए ।


प्रतिकृया दिनुहोस