२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

मङ्गलबार १६, बैशाख २०७७ ०९:२१

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

काठमाडाैं । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो ।

बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ब्याज दुई प्रतिशतले कम गरी आव २०७६/०७७ को चौथो त्रैमासको व्याज रकम गणना गर्नुपर्नेछ । तर खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्याँस उत्पादन तथा बिक्री वितरण, इन्टरनेट, दूरसञ्चार, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा यो व्यवस्था लागू नहुने बैंकले जनाएको छ । 

यसैगरी बैंकले वैशाख तथा जेठमा असुल गर्नुपर्ने मासिक/त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्ता किस्ताको हकमा कुनै पनि थप शुल्क तथा हर्जना लिन नपाइने निर्देशनमा उल्लेख छ । 

यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपूँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने बैंकले जनाएको छ ।


#बैंक

प्रतिकृया दिनुहोस