२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

- विशेष खबर आइतबार २१, कार्तिक २०७८ ११:१४

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

ताप्लेजुङ । बिरामी लिएर ताप्लेजुङको मैवाखोला गाउँपालिकाबाट सुनसरीको धरान जाँदै गरेको एम्बुुलेन्स शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मैवाखोला गाउँपालिकाका प्रवक्ता दिवस चोङवाङका अनुसार १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि पुर्‍याइएको छ ।

भारतीय दूतावासले दिएको मे १ झ ३१७० नम्बरको एम्बुलेन्स शनिबार राति लेकुवाका बिरामी विरबहादुर लिम्बूलाई लिएर धरान जाँदै थियो । बिरामीको हेरचाह तथा कुरुवाका लागि श्रीमती, छोराछोरी र छिमेकी हेमकला पनि त्यही एम्बुलेन्समा चढेका थिए । ‘ताप्लेजुङको मिल्केडाँडा कट्ने बेलाको उकालोमा चढ्न नसकेर गाडी केही पछाडि सरेछ,’ दिवसले भने, ‘त्यहीँबाट पल्टिएको एम्बुलेन्स ४०/५० मिटर तल झर्दा सबै घाइते भए । एक जनाको ज्यानै गयो ।’

एम्बुलेन्स पल्टिएको ठाउँको बाटो निकै नै अप्ठेरो भएको दिवस बताउँछन् । दुर्घटनामा चालक पनि घाइते भएको र अर्को गाडी खोजेर राति नै उपचारका लागि पठाएको उनले बताए । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबाट गएका गाडीले घाइतेलाई आइतबार बिहान मात्रै अस्पताल पुर्‍याएका छन् । घाइतेहरु खतरामुक्त छन् भन्ने सम्मको सूचना आएको उनले बताए ।

 


#दुर्घटना #ताप्लेजुङ

प्रतिकृया दिनुहोस