२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

यी प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार ०१, कार्तिक २०७८ ०४:१८

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं । बंगालको खाडी र मध्य भारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।

उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार अहिले लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै  प्रदेश नं १ र २ मा हल्का वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव जारी रहेको र अझै केही दिन बदली र वर्षा हुने उनले बताइन्। साथै सुदूरपश्च्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ ।

पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्तगतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन असर रहने मौसमविद् बासीले बताइन् ।

काठमाडौँ उपत्यकामा आइतबारदेखि नै बदली हुनाका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भइरहेको छ । गएराति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको थियो । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ ।

देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ  । महाशाखको पछिल्लो विवरणमा डडेलधुरामा ११६, दिपायलमा ९५, धनगढीमा ८०, वीरेन्द्रनगरमा, ५९, घोराहीमा ४८ र नेपालगञ्जमा ३९ मिलिमिटर वर्षा भएको छ ।

मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । रातिको समयमा पनि प्रदेश नं १, प्रदेश नं २का साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज पनि देशभर सामान्यदेखि पूर्ण बद्ली भएकाे छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
 
देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नं १, वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपच्चिमका केही स्थान र प्रदेश नं १, लुम्बिनी ,कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकोसमेत उल्लेख गरिएको छ ।

कात्तिक ३ गते बुधबारसम्म पनि सोही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २७ दशमलव आठ र न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


प्रतिकृया दिनुहोस