२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

बाँझाे जग्गामा खुर्सानी खेती गरेका प्रधानाध्यापककाे एकै वर्ष सवा कराेड आम्दानी हुने अनुमान

- रासस शनिबार ३०, साउन २०७८ ०६:३१

बाँझाे जग्गामा खुर्सानी खेती गरेका प्रधानाध्यापककाे एकै वर्ष सवा कराेड आम्दानी हुने अनुमान
  • कृष्ण दर्नाल 

पाल्पा । सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका–७ मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खुर्सानी खेतीमा पनि व्यस्त छन् ।

घर नजिकैको प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक उनले गाउँलेकाे दुई सय रोपनी बाँझो खेतबारीमा व्यावसायिकरूपमा खुर्सानी खेती गरेर याे वर्ष एक करोड रूपैंया भन्दा बढी आम्दानी हुने अनुमान गरेका छन् ।

यसैगरी ४० रोपनी जमिनमा गरिएको सुन्तला खेतीबाट वार्षिक सात लाख र  गोलभेँडा खेती तथा कुखुरापालन व्यवसायबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । परिवारको सहयोगका कारण शिक्षण पेशासँगै कृषि व्यवसायबाट उनले प्रशस्त आम्दानी गरेका हुन् ।

प्रधानाध्यापक आचार्य र कृष्ण भट्टराईद्वारा सञ्चालित त्रिपुट कृषि तथा पशु बहुउद्देश्यीय फार्मको सोे खुर्सानी खेतीले सबैको मन लोभ्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वन एकाइको चक्लाबन्दी कार्यक्रमबाट उक्त खेतीका लागि सहयोग मिलेकाले बाँझो जमिनमा व्यावसायिकरूपमा खेती गर्न थालिएको प्रधानाध्यापक आचार्यको भनाइ थियो ।

परियोजनाको सहयोगका कारण पहाडको भिरालो जमिनलाई उत्पादनशील बनाउँदै आम्दानीको स्रोत बनाउने प्रयास गरिएको उनले बताए । 'शिक्षित तथा अशिक्षित युवा शक्ति रोजगारीका लागि विदेश पलायन भएका छन् । गाउँमा बाँझो खेतबारीमा लाखाैं आम्दानीको सम्भावना छ,' प्रधानाध्यापक आचार्यले भने, 'आउनुहोस् सँगै मिलेर कृषिमा काम गरौँ, स्वरोजगार बनौँ र  रोजगारीका अवसर सिर्जना गरौँ ।'

परम्परागत अन्नबाली धान र मकैखेतीबाट प्राप्त आम्दानी कम हुने भएकाले सो व्यवसाय छाडेर व्यावसायिकरूपमा खोर्सानी खेतीमा आकर्षण बढेको हो । रैथाने अन्नबाली उत्पादनमा बढी श्रम खर्चिनुभन्दा सयौँ गुणा बढी फाइदा हुने, बाँदरलगायत वन्यजन्तुबाट नोक्सानी न्यून हुने यस खेतीप्रति आफू आकर्षित भएको उनले बताए ।

अधिकांश मानिस घर नै खाली राखी सहर प्रवेश गरिरहेकाले १५ परिवारको २०० रोपनी खेतबारी वार्षिक प्रतिरोपनी ६०० का दरले पाँच वर्षसम्मका लागि भाडामा लिएर खुर्सानी खेती थालिएको हो ।

१०/१२ वर्षदेखि बाँझो रहेको जमिनमा व्यावसायिक अहिले अकबरे खुर्सानी खेतीले हराभरा बनेको छ । एक लाख ३५ हजार खुर्सानीका बिरुवा अहिले हराभरा देखिएको हो । अनुत्पादनक क्षेत्रका रूपमा बदलिएका बाँझो खेतबारीका घाँस तथा झाडी हटाएर यो खेती थालिएको सञ्चालक आचार्यले बताए ।

घरबाटै बिक्री

खुर्सानीे प्रतिकिलो २५० मा घरबाटै बिक्री हुँदै आएको अर्का सञ्चालक भट्टराईले बताए । अकबरे खुर्सानी बिक्रीका निम्ति कुनैे समस्या छैन । चाउचाउ कम्पनीबाट ठूलो परिमाणमा खोर्सानीको माग भइरहेको छ । पाकेपछि बिक्री गर्न अप्ठ्यारो नहुने उनले बताए ।

वैशाखमा रोपिएका खुर्सानी १२५ किलोभन्दा बढी बिक्री भइसकेको छ । झण्डै २५ देखि ३० हजारसम्मको आम्दानी यो असारमा भएको छ । नियमितरूपमा खोर्सानी टिपेर बेच्ने काम अब हुन्छ । झार हटाउनुपर्ने, खोर्सानी टिप्नुपर्नेलगायत कामको चाप बढ्दो छ । आम्दानीसँगै खर्च र मिहेनत पनि प्रशस्त रहेको सञ्चालक भटृराईको  भनाइ थियो ।

अहिलेसम्म खुर्सानीको बिरुवाबाट ५० हजार आम्दानी भएको छ । हामीले चैतमा खुर्सानी रोपेकामा असार महिनासम्म बिरुवा खरिद भएको थियो । भदौको अन्तिमतिरबाट खुर्सानीको ठूलो मात्रा निकासी गरिने र कात्तिक महिनासम्म यसबाट उत्पादन हुने उनले बताए।

परियोजनाका माध्यमबाट खुर्सानी खेतीका लागि अध्ययन, अवलोकनका साथै प्राविधिक र यान्त्रिक सहयोग मिलेको छ । मल्चिङ्ग प्रविधिका कारण उत्पादन बढी हुने र थोरै  जनशक्तिबाटै काम गर्न सकिने हुँदा खर्चसमेत न्यून हुने प्रधानाध्यापक आचार्यको भनाइ थियो । यस वर्ष खुर्सानी खेतीबाट एक करोड ३५ लाख बढी आम्दानी हुने अनुमान  छ । 

रिब्दीकोट गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले हराबरा खोर्सानी खेती निकै राम्रो लागेर  फोटो खिचेको बताए । युवा जनशक्तिले स्वदेशमै श्रम र पूँजी खर्च गरे आचार्यले जस्तै करोडौँ कमाउन विदेश जानु नपर्ने उनको धारणा थियो ।

किसानको रुचि खुर्सानीतर्फ

परियोजना प्रमुख दीपक भट्टराईले बाँझो जमिन फडानी गरी लाखौँ आम्दानी गर्न सकिने यो पेशा यस क्षेत्रकै नमूना भएको बताए । खोर्सानीमा पहिलो वर्ष जति उत्पादन हुन्छ, त्यसभन्दा बढी उत्पादन दोस्रो वर्ष पनि हुनेछ । यसमा मेहेनत र लगानी कम हुँदा किसानको रुचि बढेकोे उनले बताए । कूल १७ लाख ११ हजार ७२१ को लगानीमा यो खेती गरिएकामा नौ लाख ५४ हजार परियोजनाले उपलब्ध गराएको थियो । 

रोजगारी कृषिमा

यो फार्मले पाँच जनालाई रोजगारी दिएकामा एक कृषि विषयको प्राविधिक र अन्य कामदार छन् । उनीहरूलाई मासिक १२ हजारदेखि २२ हजारसम्म पारिश्रमिकको व्यवस्था गरिएको छ । कामको चापअनुसार दैनिक २० भन्दाबढीले  ज्यालादारीमा काम गर्छन् । -(रासस)


प्रतिकृया दिनुहोस