२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

बार्सिलोनाबाट रूदै बिदा भए मेसी

एजेन्सी आइतबार २४, साउन २०७८ ०७:३०

बार्सिलोनाबाट रूदै बिदा भए मेसी

बार्सिलोना । लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग बिदा लिएका छन् । पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा मेसीले आँसु लुकाउन सकेनन् । उनले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’

उनले पत्रकार सम्मेलनका क्रममा धेरै भन्न खोजेको तर भन्न नसकेको पनि बताए । उनले भने, ‘बार्सिलोना छाड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न सकिरहेको छैन । तर अहिले मेरो जीवन सधैंका लागि फेरिँदैछ र यो तथ्यलाई स्वीकारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’ उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने पनि बताए ।

उनले थपे, ‘मैले २१ वर्ष बार्सिलोनामा बिताएँ, यहीँ मेरा तीन बच्चाको जन्म भयो । हाम्रो लागि बार्सिलोना घर हो । यो सहरले हामीलाई जे जति दियो, त्यसका लागि धन्यवाद दिनै पर्छ । म सबै खेलाडी साथीलाई पनि धन्यवाद दिन चाहन्छु । जसले मलाई साथ दिए, ती सबैप्रति म आभारी छु ।’

मेसीले बार्सिलोनाका लागि डेब्यु गरेको क्षणलाई सबैभन्दा सुखद् मान्दै त्यसपछिका वर्ष आफूले सपना पूरा गर्ने अवसर पाएका पनि बताए । उनी बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गर्ने, सबैभन्दा बढी खेल खेल्ने, सबैभन्दा बढी उपाधि जित्ने र सबैभन्दा बढी खेल जित्ने खेलाडी हुन् । उनले बार्सिलोनाका लगि ७ सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरे ।

यस्तै, उनले ३ सय ५ गोलमा अवसर पनि सिर्जना गरे । उनकै सहयोगमा बार्सिलोनाले ३५ उपाधि जित्यो । जसमा चार च्याम्पियन्स लिग, १० ला लिगा र तीन क्लब वर्ल्डकप छन् ।

उनले अबको भविष्यलाई लिएर भने केही बोल्न चाहेनन् र सबै प्रकारको सम्भावना बाँकी रहेको पनि माने ।


#लियोनल मेसी #बार्सिलोना

प्रतिकृया दिनुहोस