२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोना विरुद्धको खोप

- रासस शुक्रबार २२, साउन २०७८ ०६:३१

मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोना विरुद्धको खोप

म्याग्दी । गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५०८ जनालाई तीन प्रकारको कोरोना विरुद्धको खोप लगाइएको हो ।

कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समुहका शतप्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको जानकारी दिए। 'छ हजार ७१५ जनालाई जोन्सन एण्ड जोन्सन र दुई हजार ४७२ जनालाई कोभिसिल्ड विरुद्धको दुई चरणको खोप लगाइएको छ', उनले भने 'भेरोसिलको पहिलो र दोस्रो डोजको खोप लगाउनेको सङ्ख्या ३३२ जना छ ।'

मुस्ताङका नागरिकका साथै रोजगार, पेशा ब्यवसाय र कामदारका रुपमा आएकाले पनि खोप सुबिधा पाएका छन् । अन्य जिल्ला घर भए पनि हाल मुस्ताङमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक, सरसफाईकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार, सघंसंस्थाका कर्मचारी, शिक्षकले खोप लगाएका छन् । 

विसं २०६८ को जनगणना अनुसार कुल १३ हजार जनसङ्ख्या रहेको मुस्ताङमा १८ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नौ हजार ३६० जना थियो । मुस्ताङमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको थियो । 

कोरोना विरुद्धको कोभिशिल्ड खोप अभियान शुरु गर्दाको अवस्था सामान्य थियो । कोभिसिल्डको दोस्रो चरण, भेरोसिल र जोन्सन एण्ड जोन्सनको खोप अभियान सफल पार्न मुस्ताङका स्वास्थ्यकर्मीले निकै सङ्घर्ष गरेका छन् ।  

बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने, सडक पुल बगाउने, बिद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा खोप अभियान सञ्चालन गर्न कठिनाई भएको थियो । मार्फा खोलामा असार पहिलो हप्ता बाढी आउँदा जोखिम मोलेर दुःखका साथ खोप ढुवानी गर्दै गरेका स्वास्थ्यकर्मीको तस्बिरले अन्तरराष्ट्रियस्तरमा चर्चा पाएको थियो । 

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ठाउँ/ठाउँमा भरियालाई बोकाएर खोप ढुवानी गरिएको थियो भने खोलामा ट्याक्टरमार्फत खोप तारिएको थियो । खोप अभियान पूरा भएसँगै मुस्ताङका कतिपय शैक्षिक संस्थामा भौतिकरूपमै पठनपाठन सञ्चालन भएको छ । 


#मुस्ताङ #कोरोना भाइरस #खोप

प्रतिकृया दिनुहोस