२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन सरकारसंग कांग्रेसकाे माग

- विशेष खबर शुक्रबार १५, साउन २०७८ ०७:३२

दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन सरकारसंग कांग्रेसकाे माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन र आफ्ना नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएको घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

'घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकारसमक्ष माग गर्दछु,' प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, 'आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।'

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएका कारण ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

'भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात्‌ जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्कपश्‍चात सोही विवरण केन्द्रमा प्राप्त भएको छ । नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद्‌मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ।' विज्ञप्तिमा भनिएकाे छ ।


#नेपाली काँँग्रेस #दार्चुला घटना

प्रतिकृया दिनुहोस