२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने डब्लूएचओकाे चेतावनी

- विशेष खबर शुक्रबार ०१, साउन २०७८ ११:१५

कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने डब्लूएचओकाे चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ ।

बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि डब्लूएचओको भनाइ छ । 

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस भन्छन्, ‘कोभिड–१९ महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको विषयमा इमर्जेन्सी कमिटीले चिन्ता व्यक्त गरेको छ । जबकि अहिले नै महामारी समाप्त हुने देखिँदैन ।’

त्यस्तै समितिले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलिने सम्भावनाका बारेमा पनि चासो र चिन्ता व्यक्त गरेको उनले बताएका छन् । ‘कमिटीले कोभिड–१९ को नयाँ र सम्भवत: अझ घातक ‘भेरिएन्ट्स अफ कन्सर्न’ फैलिने प्रबल सम्भावनाका बारेमा चिन्ता व्यक्त गरेको छ । यसकारण महामारी रोकथाम र नियन्त्रण अझ चुनौतीपूर्ण हुनेछ,’ उनले भने ।

पछिल्लो समय विश्वभर नै कोरोना संक्रमण कम भएको जस्तो देखिए पनि लापरबाही र आवश्यक मापदण्ड नअपनाउँदा तेस्रो लहर आउन सक्ने जनस्वास्थ्यविद्हरूले चेतावनी दिएका छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म विश्वभर करिब १९ करोडमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ४० लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।


#विश्व स्वास्थ्य संगठन #कोरोना भाइरस

प्रतिकृया दिनुहोस