- विशेष खबर शुक्रबार ०१, साउन २०७८ ०७:२१
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।
अबैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अबैध मोबाइल बन्द र बैध मोबाइल मात्रै सञ्चालन हुने अवस्था सिर्जना गर्नेछ । ६ महिनाभित्र काम सक्ने गरी प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ठेक्का दिए पनि लकडाउनका कारण भन्दै ढिला गरी यो प्रणाली सञ्चालनमा आएको हो ।
विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्न यो प्रणाली लागू गरिएको हो । बैध रूपमा आयात हुने मोबाइलमा भ्याट र भन्सार शुल्क पनि लाग्छ । तर भन्सार छलेर ल्याइएका मोबाइलमा भन्सार र भ्याट पनि नतिर्दा त्यस्ता मोबाइल बजारमा सस्तोमा पनि पाइन्छ ।
हरेक मोबाइलमा सेटमा हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ । यस्तो नम्बर सामान्यतः १५ अंकको हुन्छ ।
नेपालमा भन्सार तिरेर भित्रिएका हरेक मोबाइलको आईएमईआई नम्बर प्राधिकरणले एमडीएमएस प्रणालीमा राखिरहेको छ । यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आईएमईआई नम्बर प्रयोगकर्ता आफैंले दर्ता गराउन सक्छन् ।
एमडीएमएसको प्रणाली नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको सर्भरमा पनि जोडिएको छ । यस्ता सेवा प्रदायकले वितरण गरेको सिम कुनै मोबाइलमा प्रयोग भइरहेको छ र ती मोबाइलको आईएमईआई दर्ता भएको रहेनछ अथवा चोरी भएको वा हराएको भनेर उजुरी परेको छ भने तिनमा सिम चल्दैन ।
शुक्रबारदेखि सुरु भए पनि आईएमईआई दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । नेपालमा भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा सूचीकरण गर्ने काम भइरहेको छ ।
यो प्रणाली लागू भए पनि नेपालमा चलिरहेका कुनै पनि मोबाइल बन्द नहुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । प्राधिकरणले नेपालबाहिर किनिएका वा उपहार पाएका मोबाइल दर्ता गराउन निश्चित समय दिनेछ । उक्त अवधिमा पनि दर्ता नभएका मोबाइललाई वर्गीकरण गरी प्रयोगकर्तालाई चेतावनी दिने वा बन्द गर्ने काम हुनेछ ।
कुनै फोन विदेशबाट किनेर वा उपहारका रूपमा आएको हो भने त्यस्तो मोबाइलको मात्रै आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । नेपालमा भ्याट बिलसहित किनेको मोबाइलको आईएमईआई दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।
नेपालमा कानुनी रूपमा भित्रिएका मोबाइल सेटको आईएमईआई नम्बर विक्रेताबाटै लिएर प्राधिकरणले यो प्रणालीमा सूचीकृत गर्ने काम गर्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको आईएमईआई नम्बरसहित एउटा सरकारी परिचयपत्र पनि अपलोड गर्नुपर्छ । यसबाहेक आफ्नो माोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर जाँच्ने सुविधा पनि त्यहीँ हुनेछ ।
प्रतिकृया दिनुहोस