२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

कोपा अमेरिका : पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

एजेन्सी शनिबार २६, असार २०७८ १०:०६

कोपा अमेरिका : पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडाैं । ब्राजिलमा जारी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो भएको हो। कोलम्बियालाई जिताउन लुइस डियाजले खेलको अन्तिममा गोल गरे।

खेलमा अग्रता भने पेरूले लिएको थियो। खेलको ४५औँ मिनेटमा  योशिमर योतुनले गोल गरी पेरुलाई सुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरू हुनेवित्तिकै ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल फर्काए।

खेलको ६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए । तर खेलको ८२ औँ मिनेटमा  पेरूका जियानलुका लापाडुलाले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए।

९० मिनेटपछि ६ मिनेट थप गरिएको थियो। थपिएको चौथो अर्थात ९४औँ मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरी कोलम्बियालाई जित दिलाए। 

सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको कोलम्बिया र ब्राजिलसँग पराजित भएको पेरूबीच तेस्रो स्थानको लागि भिडन्त भएको थियो। अर्जेन्टिना र ब्राजिलको फाइनल खेल आइतबार बिहान हुँदैछ। 


#कोपा अमेरिका #कोलम्बिया

प्रतिकृया दिनुहोस