२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

नेपालमा भेटियाे डेल्टा भेरियन्टको परिवर्तित रुप, सबै उमेर समूहमा जाेखिम

- विशेष खबर सोमबार ०७, असार २०७८ ०२:३६

नेपालमा भेटियाे डेल्टा भेरियन्टको परिवर्तित रुप, सबै उमेर समूहमा जाेखिम

काठमाडाैं । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के४१७एन म्युटेसन देखिएको बताए । यसलाई एवाइ.१ नाम दिइएको छ । 

उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो । 

नेपालमा अहिलेसम्म अल्फा (बी १.१.७) र डेल्टा (बी १.६१७.२) तथा कप्पा (बी १.६१७.१) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए ।

उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए । 'यो नयाँ देखिएको भेटियन्ट होइन,' उनले भने, 'यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।'

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ । 


प्रतिकृया दिनुहोस