२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

मङ्गलबार २८, बैशाख २०७८ ०८:५८

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ । सोमबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुले निषेधाज्ञा थप गर्नेबारे मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरेका थिए ।

पछिल्लो समयमा मुलुकभर कोभिड-१९ संक्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताए । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि थप कडाइ गर्दै पुन: अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिँदै आएका छन् ।

यसैबीच काठमाडौं प्रशासनले आज एक सूचना जारी गरी सरकारले तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । अनुगमनका क्रममा विभिन्न समस्याहरु देखिएको जनाउँदै प्रशासनले त्यसलाई गम्भीरतापूर्वक लिई व्यवस्थित गर्न अनुरोध गरेको छ ।

अस्पतालमा अक्सिजनको व्यवस्थापन सही तरिकाले गर्न, स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न, गराउन र कोभिड १९ का बिरामीलाई अत्यावश्यक औषधिहरु सही व्यवस्थापन गरी उच्चतम उपयोग गर्न पनि प्रशासनले अस्पताललाई ध्यानाकर्षण गराएको छ । - रासस


प्रतिकृया दिनुहोस