२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

भारतमा एकैदिन ३ लाख ३२ हजार भन्दा बढीमा काेराेना, २२ सय ६३ काे मृत्यु

एजेन्सी शुक्रबार १०, बैशाख २०७८ ११:५०

भारतमा एकैदिन ३ लाख ३२ हजार भन्दा बढीमा काेराेना, २२ सय ६३ काे मृत्यु

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वको कुनै पनि देशमा एकै दिन संक्रमित हुनेको हालसम्मकै बढी हो । 

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार २ सय ६३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । विश्वमा उच्च संक्रमण भएका मुलुकमध्ये भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९ सय २० पुगेको छ भने १ करोड ३६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २४ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतले अहिलेसम्म १३ करोड ५४ लाख ७८ हजार ४ सय २० डोज कोरोना खोप लगाइसकेको छ ।

पछिल्लो दुई सातायता भारतमा महामारीको फैलने क्रम तीव्र बनेको छ । विज्ञहरूले यसलाई महामारीको दोस्रो चरण दाबी गरेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै भारतको पूरै स्वास्थ्य क्षेत्र धर्मराएको छ । रेम्डेसिभिरजस्ता अत्यावश्यक औषधि मात्र नभएर अक्सिजन र बेडको चरम अभाव सुरु भएको छ ।

सामाजिक सञ्जालहरू आफन्तका लाागि अक्सिजन र बेडका लागि गुहार लगाएका सन्देशहरूले भरिएका छन् । समयमा अक्सिजन नपाएर मृत्यु हुनेको संख्या बढ्दो छ । राजधानी दिल्लीमै अक्सिजन र बेडको हाहाकार मच्चिएपछि केन्द्र सरकारले चासो देखाए पनि अवस्थामा खासै सुधार आएको छैन । बिहीबार पनि दिल्लीका कतिपय अस्पतालका प्रमुखहरूले अक्सिजन केही बेरका लागि मात्र भएको भन्दै सरकारसँग गुहार लगाइरहेका छन् ।

दिल्लीको शान्ति मुकुन्द अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुनील सग्गर त भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै गर्दा एक्कासि भक्कानिए । ‘यो अवस्था दुर्भाग्यपूर्ण हो । हामी डाक्टर र अस्पतालले बिरामीलाई अक्सिजनसमेत दिन सक्दैनौं भने कस्तो अवस्था होला बिरामी मर्छन्,’ उनले भनेका छन् ।

दिल्लीबाहिरको अवस्था झनै दारुण छ । कैयन् राज्यमा अस्पतालहरूले अक्सिजन सकिएपछि सिकिस्त बिरामीहरूलाई अन्य अस्पताल पठाउन थालेका छन् । अक्सिजनको चरम अभावलाई लिएर केन्द्र सरकारको तीव्र आलोचना सुरु भएको छ । यस्तो परिस्थिति सिर्जना हुनुमा दोस्रो लहरप्रति बेवास्ता र आवश्यक पूर्वतयारीको अभावलाई नै प्रमुख कारण ठानिएको छ ।

केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको विकराल अवस्थालाई सुधार्न पहल गरे पनि पर्याप्त देखिएको छैन । अक्सिजन ढुवानीसमेत सहज बन्न सकेको छैन । अझै पनि अक्सिजन ढुवानीमा अवरोध कायमै छ । कतिपय राज्यमा अक्सिजन बोकेका गाडीहरूलाई अन्य राज्यमा जान अवरोध गर्दै आएका छन् ।

अक्सिजन ढुवानी चाँडो गराउन सरकारले रेल्वेमा ग्रिन लाइन सेवा सुरु गरे पनि त्यो प्रभावकारी देखिएको छैन । अक्सिजन ढुवानीमा अवरोध नहुन दिन केन्द्रीय गृह मन्त्रालयले बिहीबार एक आदेश जारी गर्दै त्यस्तो नगर्न चेतावनी दिएको छ । मन्त्रालयले अक्सिजनको अन्तरराज्य ढुवानीमा कुनै अवरोध नपुर्‍याउन भनेको छ । यदि अवरोध पुगेको खण्डमा सम्बन्धित जिल्लाका प्रहरी अधिकारीमाथि कडा कारबाही गर्ने चेतावनीसमेत मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलने क्रम एकाएक बढेपछि हरियाणा, राजस्थानलगायतका राज्यमा अक्सिजन बोकेका ट्यांकर र ट्रक रोकिएका खबरहरू सार्वजनिक भएको थियो ।

स्वास्थ्य क्षेत्रमा देखिएको पछिल्लो अवस्थाका सम्बन्धमा अदालतले पनि गम्भीर चासो प्रकट गर्दै सरकारले महामारीलाई गम्भीरतापूर्वक नलिएको भन्दै केन्द्र उसप्रति तिखो टिप्पणी गरेको छ । दिल्ली उच्च अदालतले बिहीबार केन्द्र सरकारलाई दिल्ली तत्काल ४८० मेटन अक्सिजन आपूर्ति गर्न आदेश दिएको छ ।

दिल्ली उच्च अदालतको सरकारले अक्सिजनको आपूर्ति सहज गराउने प्रतिबद्धता व्यक्त गरे पनि गम्भीरतापूर्वक कार्यान्वयन हुनेमा आशंकासमेत व्यक्त गर्दै उक्त आदेश दिएको हो । साथै मुलुक भगवान् भरोसा चलेको भन्दै सरकार र उसको कामकारबाहीप्रति तिखो व्यंग्यसमेत अदालतले गरेको छ ।

यसअघि दिल्ली उच्च अदालतले नै बुधबार केन्द्र सरकारलाई अक्सिजनको आपूर्ति व्यवस्था मिलाउन नसकेकोमा चर्को अलोचना गरेको थियो । त्यसैगरी बिहीबार सर्वोच्च अदालतले पनि हाल संकटकालीन अवस्था देखा परेको भन्दै केन्द्र सरकारसँग कोरोना महामारी रोकथामका लागि भइरहेको तयारीको विवरण पेश गर्न आदेश दिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव र स्वास्थ्य क्षेत्रमा देखिएको पछिल्लो संकटका विषयमा छलफल गर्न शुक्रबार उच्चअधिकारीहरूसँग बैठक राखेका छन् । उनले पश्चिम बंगालको चुनावी र्‍यालीलाई स्थगित गर्दै बैठक राखेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


#भारत #कोरोना संक्रमण

प्रतिकृया दिनुहोस