२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना, २ हजार १०४ जनाको मृत्यु

- विशेष खबर बिहिबार ०९, बैशाख २०७८ १२:२९

भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना,  २ हजार १०४ जनाको मृत्यु

काठमाडौं । भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।  भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो ८औं दिन हो ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोना संक्रमण भयावह बन्नेक्रमसँगै राजधानी दिल्लीलगायत प्रमुख सहरमा अक्सिजनको हाहाकार सुरु हुन थालेको छ । संक्रमणदर बढेसँगै अक्सिजनको चरम अभाव थालेको छ । राजधानी दिल्लीमा त हाहाकार नै मच्चिएको छ । दिल्लीका प्रमुख अस्पतालहरुमा अक्सिजन सीमित रहेको र यदि समयमा आपूर्ति नभएको खण्डमा परिस्थिति भयावह बन्ने देखिएको छ ।

दिल्लीकै जस्तो अवस्था महाराष्ट्र, मध्यप्रदेश, गुजरात र उत्तरप्रदेशको रहेको छ । उत्तरप्रदेशको बनारस र लखनऊमा अक्सिजन समयमा उपलब्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ ।


#भारत #काेराेना संक्रमण

प्रतिकृया दिनुहोस